पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
विराटनगरस्थित सहिद मैदानमा मंगलबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपिएफलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारत केरलाको लुका सकर फाइनलमा पुगेको हो।
जितसँगै उपाधिका लागि भारतले घरेलु टिम विराटनगर सिटी (बिसिएफसी) सँग बिहीबार फाइनल खेल्नेछ।
मंगलबारको खेलमा लुका सकरका तर्फबाट चार्ल्स, रफी, अर्सद र पलले गोल गरी टिमलाई फाइनलमा पुर्याए। लुका सकरका क्यामुद्धिनको प्रहार एपिएफका गोलरक्षक राजु नगरकोटेले बचाएका थिए।
विशाल स्याङतेन र गोलकिपर राजु नगरकोटेले गोल गर्न चुक्दा डिफेन्डिङ च्याम्पियन एपिएफ सेमिफाइनबाट घर फर्किन बाध्यो भयो। विशालको प्रहार लुका सकरका गोलकिपरले उत्कृष्ट बचाए। गोलकिपर राजुको प्रहार भने पोस्टमा लागेर फर्कियो।
एपिएफको तर्फबाट दिपेश धिमाल र सविन गुरूङले मात्र गोल गरे।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको समयमा पनि दुवै टिमबाट गोलरहित बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो। आजको खेल्मा म्यान अफ द म्याच लुका सकरका महमद सरफिर घोषित भए। उनले नगद ११ हजार पाए।