युरो छनोटमा उपाधिको बलियो दाबेदार स्पेन स्कटल्याण्डसँग स्तब्ध भएको छ।
गएराति ह्याम्पडेन पार्कमा युरो २०२४ को छनोट खेलमा स्कट म्याकटोमिनेले २ गोल गरेपछि बलियो टोली स्पेन २-० गोल अन्तरले पराजित भएको हो।
खेलको सातौं मिनेटमा म्याकटोमिने गोल गर्दै स्कटिस टोलीलाई सुरूआती अग्रता दिलाएका थिए। पहिलो हाफसम्म १-० ले पछि परेको स्पेनले खेलमा फर्कने केही राम्रा मौका पाए पनि सदुपयोग गर्न सकेन।
दोस्रो हाफको सुरूमै ५१ औं मिनेटमा म्याकटोमिनेले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे। खेलमा ७५ प्रतिशत बल पोजिशन राखे पनि गोल गर्न नसक्दा स्कटल्यान्डले स्पेनमाथि ३९ वर्षयता पहिलो प्रतिस्पर्धात्मक जित हात पारेको हो।
योसँगै स्कट्ल्याण्डले सन् १९८४ पछि स्पेनलाई पहिलो पटक हराएको हो। समूह ए को दुई खेलबाट ६ अंक जोडेको स्कटल्याण्ड शीर्ष स्थानमा रहँदा पराजित स्पेन समान खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ।