बेल्जियमले मैत्रीपूर्ण खेलमा जर्मनीमाथि सहज जित निकालेको छ।
जर्मनीको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली बेल्जियम ३-२ गोल अन्तरमा विजयी भएको हो। युरो २०२४ को आयोजक जर्मनीलाई हराउने क्रममा बेल्जियमका लागि यानिक क्यारास्को, रोमेलु लुकाकु र डे ब्रुइनले गोल गर्दा जर्मनीका लागि निक्लास फुलक्रग र सर्ज गनाब्रीले एक-एक गोल गरे।
खेलको पहिलो ९ मिनेट भित्र २ गोल गर्दै बेल्जियमले घरेलु टोलीलाई दबाबमा राखेको थियो। उसका लागि छैटौं मिनेटमा क्यारास्कोले गोल गर्दा नवौं मिनेटमा रोमेलु लुकाकुले अग्रता दोब्बर पारे। तर खेलको ४४ औं मिनेटमा निक्लास फुलक्रगले पेनाल्टीमा गोल गर्दै पहिलो हाफमा २-१ को स्थितिमा ल्याए।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको जर्मनीले गोल गर्ने केही राम्रा मौका गुमायो। खेलको ७८ औं मिनेटमा डे ब्रुइनले गोल गर्दै बेल्जियमलाई ३-१ को अग्रा दिलाए। खेलको अन्त्यतिर गनाब्रीले गोल गरेपनि घरेलु टोलीलाई हारबाट जोगाउन सकेनन्। यो सँगै नयाँ प्रशिक्षक डोमेनिको टेडेस्कोको नेतृत्वमा रहेको बेल्जियमले पछिल्ला २ खेलमा शतप्रतिशत जित हात पारेको छ।
यसअघि शुक्रबार युरो २०२४ को छनोट खेलमा लुकाकुले ह्याट्रिक गरेपछि स्वीडेनमाथि ३-० को सहज जित निकालेको थियो। बेल्जियमको यो चार दिनमा दोस्रो जित हो। बेल्जियमले सन् १९५४ पछि पहिलो पटक जर्मनीमाथि जित निकालेको हो।
कतारमा भएको विश्वकपबाट बाहिरिएपछिको पहिलो अन्तर्राष्ट्रिय खेलमा शनिबार पेरुलाई २-० ले हराएको जर्मनलेले घरेलु मैदानमा बेल्जियमसँग हार व्यहोर्यो।