भुटानी रोनाल्डो उपनामले परिचित चेन्चो ग्याल्सेन मछिन्द्र क्लबबाट ए डिभिजन लिगको जारी सिजन खेल्ने भएका छन्।
भुटानी राष्ट्रिय टोलीका कप्तानसमेत गरेका चेन्चोलाई जारी सिजनका लागि आवद्ध गरिएको मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए।
उनले चेन्चोलाई क्लबमा आवद्ध गरिएको पुष्टि गर्दै थप जानकारी प्रधानमन्त्री थ्री नेसन्स कप सकिएको भोलिपल्ट सार्वजनिक गर्ने बताए। अहिले चेन्चो काठमाडौंमा जारी थ्री नेसन्स कपका लागि भुटानी टोलीको कप्तानी गरिरहेका छन्।
यसअघि चेन्चो भारतको पन्जाब क्लबमा आवद्ध थिए। जुन क्लब गत सिजनको आइलिग च्याम्पियन बनेको थियो। चेन्चोसँगै नेपालका कम्तानसमेत रहेका किरणकुमार लिम्बु पनि सोही क्लबमा थिए।
सन् २०११ मा भुटानको राष्ट्रिय टिममा डेब्यू गरेका चेन्चो नेपाली भूमि आफ्नो लागि लक्की रहेको ठान्छन्। उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल नै नेपालमा गरेका थिए। साथै गोल गरेपछि रोनाल्डोको जस्तो सेलिब्रेसन गर्ने कारण उनलाई फ्यानहरूले भुटानी रोनाल्डो उपनाम दिएका हुन्।
चेन्चोकै कप्तानीमा भुटानले नेपालमा आयोजित १३औं सागको फाइनलमा पहिलो पटक स्थान बनाएको थियो। तर फाइनलमा नेपालसँग पराजित हुन पुग्यो।
उनै चेन्चोको खेल कौशल नेपाली फ्यानहरूले जारी एडिभिजन लिगको बाँकी खेलहरूमा हेर्न पाउने छन्।