मनाङ मर्स्याङ्दी क्लब छैठौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा बुधबार भएको खेलमा क्यामरूनको एभिनर फुटबल क्लबलाई ६–० गोल अन्तरले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।
कागजात पूरा नभएर क्यामरूनका दुई जना खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरूद्ध मैदान उत्रिएको थियो।
मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गोल गरे। मनाङका लागि खेलको १२ औं मिनेटमा जीवन गुरूङले गोल गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो।
पहिलो हाफमा फउल गरेका जोर्डन जुनियरले पहेंलो कार्ड पाए।
उनले त्यसको विरोधमा विपक्षी टोली र अम्पायरसित गरेको व्यवहारका कारण रातो कार्ड पाएर बाहिरिनु पर्यो। त्यसको केही मिनेटपछि गोल किपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनरको टिम सात जनामा सीमित रहन पुगेको थियो।
खेलको ५४ औं मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे। यस्तै ५९ औं, ६७ औं र ७७ औं मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको ८१ औं मिनेटमा अनिल गुरूङले मनाङका लागि छैठौं गोल गरे।
क्यामरूनले आज ४ खेलाडीको अनुपस्थितिमा पनि मैदानमा केहि अवसर बनायो तर गोल गर्न सकेन।
मनाङका सायीजमलले आजको खेलको ‘एसपीए म्यान अफ दि म्याच’ भएर नगद दश हजार जिते।
जितसँगै मनाङ चैत १८ गते हुने फाइनल खेल्ने छ।
बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लवबीच दोस्रो सेमिफाइनलको विजेतासँग मनाङले उपाधिका लागि खेल्ने छ। दोस्रो सेमिफाइनल खेल बिहीबार दिउँसो ३ः३० बजे सुरू हुनेछ।
मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।
सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबले आयोजना गरेको हो।