प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस् भिड्दै छन्।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार साँझ साढे ५ बजे नेपाल र लाअोसबीच फाइनल खेल हुँदै छ। दुबै टोली एकअर्कालाई हराएर उपाधि जित्ने लक्ष्यमा हुनेछन्।
नेपाली टोली घरेलु मैदान र घरेलु दर्शकको जोडदार समर्थन रहने हुँदा उच्च मनोबलका साथ मैदान उत्रिनेछ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र दोस्रो हुने टिमले ३ हजार डलर पाउनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन्।
नेपालले जारी प्रतियोगिताको अघिल्लो खेलमा लाओसलाई २–० गोल अन्तरले पराजित गरेको थियो।
नेपाल र लाओसबीचको हेड टु हेडमा पनि नेपाल अगाडि छ। अहिलेसम्म भएको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्णमा लाओस्विरुद्ध नेपालले एक जित र एक बराबरी खेलेको छ।
सन् २०१६ मा भएको एफसी सोलिडारिटी कपमा पनि नेपाल र लाओस्ले बराबरी खेलेको थियो।