पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसियाली छनोटको पहिलो चरणका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरिएको छ ।
राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले शुक्रबार २२ सदस्यीय टोलीको घोषणा गरेका छन्।
नेपालले दशरथ रंगशालामा चैत २२ र २५ गते भियतनामसँग दुई खेल खेल्नेछ। दुवै खेल साँझ ६ बजे सुरु हुनेछन्।
समूह ‘सी’ मा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच दुई खेल हुन लागेको हो।
दुई खेलको आधारमा अघि रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।
एसियाली छनोट राउण्ड १ मा प्रतिस्पर्धा गर्ने २६ टिमले सात समूहमा प्रतिस्पर्धा गर्दैछन्।
प्रत्येक समूहका विजेता राउन्ड २ मा पुग्नेछन्। जहाँ उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया पुगिसकेका छन्।
अष्ट्रेलिया २०२० टोकियो ओलम्पिकमा चौथो स्थानमा रह्यो भने जापान क्वार्टरफाइनलमा स्विडेनसँग पराजित भएको थियो। चीन भने समूह चरणबाटै बाहिरिएको थियो।
राउण्ड २ मा चार टिम सम्मिलिन तीन समूह हुनेछन्। विजेता र उत्कृष्ट उपविजेता राउन्ड ३ मा पुग्नेछन्।
राउन्ड ३ मा होम एन्ड अवेका आधारमा भिडन्त हुनेछन्। विजेता टिम ओलम्पिकमा छनोट हुनेछन्।
नेपाली टिम
गोलकिपरः एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डरः समीक्षा घिमिरे, हिराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना, सिर्जना चेम्जोङ
मिडफिल्डरः रेणुका नगरकोटी, विमला चौधरी, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अनिता केसी
फरवार्डः अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, निर्मला विक