दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आगामी जुन २१ देखि सुरु हुने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आज बसेको कार्यसमितिको भर्चुअल बैठकले साफ च्याम्पियनसिप जुन २१ देखि जुलाई ३ सम्म भारतको बेंगलुरूमा आयोजना हुने निर्णय गरेको हो।
बैठकमा साफ बाहिरका एक वा दुई टिमलाई आमन्त्रित टिमको रुपमा बोलाउने विषयमा पनि छलफल भएको छ।
बैठकले प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउन आठ टिमबीच प्रतिस्पर्धा गराउने र त्यसका लागि साफ बाहिरका टिमलाई आमन्त्रण गर्ने विषयमा छलफल गरेको हो।
सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिपको सन् २०२३ को संस्करण १४औं संस्करण हो।
सन् २०२१ मा भएको पछिल्लो साफमा भारतले उपाधि जितेको थियो। त्यतिबेला नेपाल फाइनलमा पराजित हुँदा पहिलो उपाधि जित्नबाट बन्चित भएको थियो।
१३ संस्करण मध्ये भारतले आठ पटक उपाधि जितेको छ। नेपालले भने अहिलेसम्म उपाधि जित्न सफल भएको छैन। गत संस्करणको फाइनलमा पुग्नु नेपालको उच्च प्रदर्शन हो।