पिएसजी फ्रेन्च लिग वानको खेलमा पराजित भएको छ। आइतबार लियोनसँग पिएसजीले १-० गोलको हार बेहोरेको हो।
लियोनको जितमा बार्कोलाले खेलको ५६ मिनेटमा गोल गरेका थिए।
लिगमा पिएसजी पाँच खेलमा पराजित भइसकेको छ। यो सिजन सबै प्रतियोगिता गरी पिएसजीको यो सातौं हार हो।
लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको पिएसजीको २९ खेलबाट ६६ अंक छ। दोस्रो स्थानको लेन्सको ६० र तेस्रो स्थानको मार्सेको पनि ६० अंक नै छ।
पिएसजीले विश्वकपको अन्त्यदेखि सबै प्रतियोगितामा आफ्ना १८ खेलमध्ये सात हारिसकेको छ।
खेल सकिएपछि फ्यानले मेसीलाई लक्षित गर्दै सिठ्ठी फुकेका थिए। लगातार दुई सिजन पिएसजी च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गर्न चुकिरहेको छ।
मेसीले पिएसजीसँग आफ्नो सम्झौता लम्ब्याउने विषयमा कुराकानी गरिरहेका छन्। तर बार्सिलोनाले पनि उनलाई आफ्नो करिअरको अधिकांश समय बिताएका क्लबमा फर्किने विषयमा सम्पर्क गरेको छ।