दशरथ रंगशालामा बुधबार नेपालले पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फटबलको एसियाली छनोट प्रतियोगिताको पहिलो चरणको खेलमा भियतनामको सामना गर्दैछ।
खेलअघि बोल्दै नेपालका प्रशिक्षक अनन्तराज थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले फिफा महिला विश्व वरियतामा ३३औं स्थानमा रहेको टोलीविरुद्धको चुनौतीबारे सचेत रहेको बताए। फिफा वरियतामा भने नेपाल सयौं स्थानमा छ।
गत वर्ष भियतनामले दक्षिण कोरिया लगायतका बलिया टिमसँग खेलेको थियो। कोरियाविरुद्धको पहिलो खेलमा ३-० गोलले हारेको भियतनामले दोस्रो खेलमा ३-२ गोलको जित निकालेको थियो।
मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक थापाले भने, ‘भियतनाम आफ्नो स्तर परिक्षण गर्नको लागि राम्रो प्रतिद्वन्द्वी हो। हामीसँग राम्रो तयारी गर्ने राम्रो टोली छ। हामीले राम्रो नतिजाको अपेक्षा गरेका छौं।’
थापाले भोलिको खेलको तयारीका लागि भियतनाम र उनका प्रमुख खेलाडीहरुको अनुगमन गरिरहेको बताए। उनले प्रमुख खेलाडी गीता राना र प्रीति राईको चोट नेपालका लागि चिन्ताको विषय भएको बताए।
‘यस्ता प्रमुख खेलाडीहरूलाई टोलीले गुमाउनु दुःखद कुरा हो। तर हामीसँग खेलाडी छनोटको विकल्प छ। आशा छ समस्या हुनेछैन,' उनले भने।
नेपालका कप्तान सुब्बाले भियतनाम विश्वकप खेल्ने सक्ने राष्ट्र भएको थाहा भए पनि भोलिको खेल जित्न मैदान उत्रने बताइन्। ‘हामी खेल जित्न चाहन्छौं,’ उनले भनिन्।
भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको प्रभावशाली टोली रहेको र उनीहरूसँग राम्रो खेल हुने अपेक्षा गरेको बताए। ‘हामीले नेपालसँग पहिले खेलेका छैनौं तर नेपालसँग प्रभावशाली टोली छ। हामी राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं किनभने हामी यहाँ खेलहरू खेल्न मात्र होइन प्रतिस्पर्धा गर्न आएका हौं,’ उनले भने।
कप्तान हुन नुले एउटै राष्ट्र विरुद्ध दुई पटक खेल्नु अलि अनौठो भएको बताइन्। ‘प्रतिद्वन्द्वी टोलीलाई सम्मान गर्छौं र हामी यहाँ जित्नका लागि आएका छौं,’ उनले भनिन्।
भोलिको खेल साँझ ६ बजे दशरथ रंगशालामा हुनेछ। दोस्रो खेल शनिबार हुनेछ।
समूह ‘सी’ मा रहेका अफगानिस्तान र प्यालेस्टाइनले नाम फिर्ता लिएपछि नेपाल र भियतनामबीच दुई खेल हुन लागेको हो।
दुई खेलको आधारमा अघि रहने टिम दोस्रो चरणमा प्रवेश गर्नेछ।
एसियाली छनोट राउण्ड १ मा प्रतिस्पर्धा गर्ने २६ टिमले सात समूहमा प्रतिस्पर्धा गर्दैछन्।
प्रत्येक समूहका विजेता राउन्ड २ मा पुग्नेछन्। जहाँ उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया पुगिसकेका छन्।
अष्ट्रेलिया २०२० टोकियो ओलम्पिकमा चौथो स्थानमा रह्यो भने जापान क्वार्टरफाइनलमा स्विडेनसँग पराजित भएको थियो। चीन भने समूह चरणबाटै बाहिरिएको थियो।
राउण्ड २ मा चार टिम सम्मिलिन तीन समूह हुनेछन्। विजेता र उत्कृष्ट उपविजेता राउन्ड ३ मा पुग्नेछन्।
राउन्ड ३ मा होम एन्ड अवेका आधारमा भिडन्त हुनेछन्। विजेता टिम ओलम्पिकमा छनोट हुनेछन्।