एसियाली फुटबल महासंघ (एएफसी) र एएफसी एसियन कप कतारले एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एसियन कप आगामी वर्ष २०२४ को जनवरी १२ देखि फेब्रुअरी १० सम्म आयोजना गर्ने निर्णय गरेको छ।
सन् २०२३ मा चीनमा हुने भनिएको एसियन कप कोभिड-१९ का कारण एक वर्षपछि धकेलिएको थियो।
एसियाका शीर्ष २४ राष्ट्रहरूले एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिताका लागि प्रतिस्पर्धा गर्नेछन्।
एसियन कपमा आठ रंगशालामा खेल हुनेछन्। जसमध्ये छ वटा फिफा विश्वकप कतार २०२२ को खेल खेलिएका रंगशाला हुन्।
एसियन कप ३० दिन चल्नेछ। सन् २०१९ मा २८ दिन चलेको थियो।
प्रतियोगिताका लागि आधिकारिक ड्र समारोह मे ११, २०२३ को दिउँसो २ बजे दोहास्थित ओपेरा हाउसमा हुने निश्चित भएको छ।
प्रतियोगितामा आयोजक कतारसहित, जापान, सिरिया, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, साउदी अरेबिया, युएई, चीन, इराक, ओमान, भियतनाम, लेवनान, प्यालेस्टाइन, उज्वेकिस्तान, थाइल्यान्ड, भारत, हङकङ, ताजकिस्तान, किर्गिस्तान, बहराइन, मलेसिया, जोर्डन र इन्डोनेसिया छनोट भइसकेका छन्। नेपाल भने दोस्रो चरणबाटै बाहिरिएको थियो।
अब यी २४ देशलाई चार चार टिम सम्मलिन ६ समूहमा विभाजन गरिनेछ। समूहका विजेता र उपविजेता गरी १२ टिम अन्तिम १६ मा पुग्नेछन् भने चार उत्कृष्ट तेस्रो टिमले पनि अन्तिम १६ मा स्थान बनाउनेछन्।