पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट पहिलो चरणको खेलमा नेपाल पराजित भएको छ।
दशरथ रंगशालामा बुधबार खेलमा भियतनामले नेपाललाई ५-१ गोलले पराजित गर्यो। नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो।
खेलको ११ मिनेटमा फाम हइ यनेले हेडमार्फत् पहिलो गोल गरिन्।
३५ मिनेटमा भियतनामले पेनाल्टी पायो। नेपाली डिफेन्डरले डिबक्सभित्र ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा भियतनामकी हुन नह्युनले गोल गरिन्।
लगत्तै भियतनामले तेस्रो गोल गर्यो। एनगुनयन थि बिच थिइले डिबक्सबाट हानेको प्रहार नेपालकी अमृता जेशीको खुट्टामा लागेर पोस्ट भित्र छिरेको थियो।
दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमा भियतनामले चौथो गोल गरेको थियो।
७९ मिनेटमा नेपालले गोल गर्न सफल भयो। नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन्।
दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा अर्को गोल गर्दै भियतनामले ५-१ गोलको जित निकाल्यो।
नेपाल र भियतनामबीच आगामी शनिबार दोस्रो खेल हुनेछ। दुई खेलको आधारमा अघि रहने टिम दोस्रो चरणको छनोटमा पुग्नेछ।
फिफा वरियताको ३३औं स्थानमा रहेको भियतनामले यहि वर्ष अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने महिला फिफा विश्वकप खेल्दैछ।