इग्लिस क्लब चेल्सीले पूर्वप्रशिक्षक फ्रान्क लाम्पार्डलाई सिजनको बाँकी खेल हेर्ने गरी अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ।
ग्राहम पोटरको बर्खास्तीपछि चेल्सीले लाम्पार्डलाई पुनः प्रशिक्षकको जिममेवारी दिएको हो।
चेल्सीले लगातारको खराब प्रदर्शनपछि गत आइतबार पोटरलाई बर्खास्त गरेको थियो। लाम्पार्डलाई पनि यसअघि सन् २०२१ मा चेल्सीले बर्खास्त गरेका थियो। उनले जुलाई २०१९ देखि जनवरी २०२१ सम्म चेल्सीको प्रशिक्षण सम्हालेका थिए। त्यसपछि चेल्सीले थोमस टुचेल र ग्राहम पोटरलाई प्रशिक्षक बनाएको थियो।
लाम्पार्ड यसै सिजन इंग्लिस क्लब एभर्टनबाट बर्खास्तीमा परेका थिए। जनवरीमा एभर्टनबाट बर्खास्त भएपछि खाली रहेका लाम्पार्डलाई चेल्सीको केयरटेकर प्रबन्धकमा नियुक्त गरेको हो।
अन्तरिम प्रशिक्षक नियुक्त भएपछि लाम्पार्डले अहिले नै पूर्ण रुपमा मुख्य प्रशिक्षक बन्नुको सट्टा टोलीको नतिजामा आफ्नो ध्यान केन्द्रित गर्ने बताए।
‘म आफूले गर्नसक्ने सबैभन्दा राम्रो भूमिका गर्न चाहन्छु र त्यसपछि के हुन्छ हामी हेर्नेछौं,’ ४४ वर्षीय लाम्पार्डले भने, ‘म कहाँसम्म पुग्छु भन्न सक्दिनँ, तर म आफैंभन्दा अगाडि कतै पुग्दिनँ।’
लाम्पार्डको नियुक्तिको घोषणा गर्दै क्लबका मालिकद्वय टोड बोहली र बेहदाद एघबालीले क्लब र आफ्ना फ्यानहरूलाई सिजनको बाँकी समय सुखद नतिजा दिन तथा स्पष्ट र स्थिर योजना प्रदान गर्न लाम्पार्टलाई भित्र्याएको बताए।
‘हामी आफैलाई सफलताको हरेक मौका दिन चाहन्छौं र फ्रान्कसँग हामीलाई अन्तिम रेखामा पुर्याउन आवश्यक पर्ने सबै विशेषताहरू र गुणहरू छन्,’ बोहलीले भने। अब लाम्पार्डको प्रशिक्षणमा चेल्सीले प्रिमियर लिगमा शनिबार वुल्भ्स र त्यसपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार रियल म्याड्रिडसँग खेल्नेछ।
प्रिमियर लिगमा ११ औं स्थानमा रहेको चेल्सी चौथो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १४ अंकले पछि छ। यस सिजन नयाँ खेलाडीका लागि चेल्सीले ५५० मिलियन भन्दा बढी खर्च गरे पनि अपेक्षाकृत नतिजा निकाल्न सकेन।