दुई पटकको अग्रता जोगाउन नसक्दा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लारियलसँग हार बेहोरेको छ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल भिल्लारियलसँग ३–२ ले पराजित भएको हो।
रियललाई हराउन भिल्लारियलका सामुइल चुकविजीले २ तथा जोश लुइस मोरालेसले एक गोल गरेका थिए। रियलका भिनिसियस जुनियरले एक गोल गर्दा एक गोल उपहार पाए पनि थप गोल गर्न नसक्दा हार व्यहोरेको हो।
बुधबार राति बार्सिलोनालाई फराकिलो अन्तरमा हराएको रियलले सान्टियागो बर्नबेउमा दुई पटक अग्रता लिए पनि अपेक्षाकृत प्रदर्शन गर्न नसक्दा पराजय भोग्न पुग्यो। रियलले खेलको १६औं मिनेटमा पाउ टोरेसको आत्मघाती गोलबाट सुरूआती अग्रता लिएको थियो।
३९औं मिनेटमा सामुइल चुकविजीले जियोभानी लो सेल्सोको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए। दोस्रो हाफको सुरूमै भिनिसियसले गोल गर्दै रियललाई पुनः २–१ को अग्रता दिलाए। तर ७०औं मिनेटमा जोश लुइस मोरालेसले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए।
८० औं मिनेटमा सामुइल चुकविजीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै भिल्लालाई ३–२ ले अघि बढाए। उक्त अग्रता जोगाउँदै भिल्लारियलले रियलको घरेलु मैदानमा जित निकाल्यो। यो हारसँगै रियलको लालिगामा उपाधि जित्ने सम्भावना टाढिएको छ।
लिगको दोस्रो स्थानमा रहेको रियल शीर्षस्थानको बार्सिलोनासँग १२ अंकले पछि परेको छ। रियलको २८ खेलबाट ५९ अंक रहँदा एक खेल कम खेलेको बार्सिलोनाको ७१ अंकसहित शीर्ष स्थानमा छ। रियललाई हराएको भिल्लारियल ४७ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ।