सहिद स्मारक ए डिभिजन लिग २०७९-८० मा पूर्व च्याम्पियन नेपाल पुलिस क्लबले पहिलो जित हात पारेको छ।
अंक तालिकाको पुछारमा रहेको पुलिसले आफूभन्दा एक स्थान अघि रहेको फ्रेन्ड्स क्लबमाथि ३-१ गोलको जित हात पारेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटो भएको खेलमा पुलिसको जितमा घानाका खेलाडी मोसेस युमले डेब्यू खेलमा गोल गर्दा बुद्धबल तामाङले दुई गोल गरे।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५१ मिनेटमा मोसेसले गोल गर्दै पुलिसलाई अग्रता दिलाए।
खेलमा पुलिसले पहिलोपटक दुई विदेशी खेलाडी खेलाएको थियो। खेलमा मोसेससँगै जोइ आइडो खेलेका थिए।
लिगमा लगातार खराब प्रदर्शनपछि पुलिसले विदेशी खेलाडी आबद्ध गरेको हो। विदेशी खेलाडी आबद्ध गरेको पहिलो खेलमै पुलिसले सिजनमा पहिलो जित निकाल्न सफल भयो।
पुलिसका लागि बुद्धबलले ५८ मिनेटमा अग्रता दोब्बर पारे।
फ्रेन्ड्सका टोरिक जेब्रिनले ८७ मिनेटमा गोल फर्काए। तर बुद्धबलले ९० मिनेटमा तेस्रो गोल गर्दा पुलिस जिततर्फ अघि बढ्यो।
अंक तालिकाको १४औं/पुछारमा रहेको पुलिसले ४ अंक जोडेको छ। पुलिसले सात खेलमा ५ खेलमा हार बेहोर्दा एक-एक खेलमा जित र बराबरी खेलेको छ। यता १३औं स्थानको फ्रेन्ड्सले पनि ४ अंक जोडेको छ भने गोलअन्तरमा पुलिस भन्दा अघि छ।
यता दशरथ रंशगालामा भएको खेलमा चर्च ब्वाइज युनाइटेड र नेपाल एपिएफ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएका छन्।
लिगमा चर्च ब्वाइज ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पाँचौ स्थानको एपिएफको ११ अंक भएको छ।