सिङ्गापुर, जेठ २७ (एजेन्सी)
अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आउँदो मंगलबार राष्ट्रिय रंगशालामा मैत्रीपूर्ण खेल नखेल्ने समाचार बाहिरिएपछि सिङ्गापुरका फुटबल समर्थकहरु रिसले आगो भएका छन्।
सिङ्गापुर फुटबल संघको १ सय २५ औं स्थापना दिवसको अवसर पारेर विश्व नम्बर २ टिम अर्जेन्टिनासँग मैत्रीपूर्ण फुटबल खेलको आयोजना हुन लागेको हो। यसअघि मेसीले पनि यो खेल खेल्ने बताइएको थियो। तर, अर्जेन्टिनाबाट सार्वजनिक क्लारिन पत्रिकाले मेसी र डिफेन्डर निकोलास ओट्मेन्डी आफ्नो विवाहका कारण अनुपस्थित हुने बताएपछि सिङ्गापुरका फुटबल समर्थक भड्किएका हुन्।
बार्सिलोना स्टार मेसी आउँदो जुन ३० मा लामो समयदेखि प्रेमिका रहेकी आन्टोनेला रोक्युजोसँग वैवाहिक बन्धनमा बाँधिने कार्यक्रम छ। यस्तै, जुन १३ मा ओट्मेन्टीको विवाह छ। सिङ्गापुरमा मैत्रीपूर्ण खेल आयोजनाको जिम्मेवारी लिएका युनिसेसले भने यी दुई खेलाडी अनुपस्थिति हुने खबर सार्वजनिक गरेको छैन्। तर, अर्जेन्टिनाका नवनियुक्त प्रशिक्षक जोर्जे साम्पाउलीले मेलबर्नमा अर्जेन्टिना र ब्राजिलबीच शुक्रबार हुने खेल अगाडि यो खबरको पुष्टी गरिसकेका छन्।
मेसीले खेल्ने खबरपछि सिङ्गापुरमा टिकटको मूल्य बृद्धि गरिएको छ। यी दुई देशबीचको टिकटको दाम ४० र १ सय ८८ सिङ्गापुर डलर कायम गरिएको छ।
‘निश्चयनै यसले निरास भएको छु। पहिले नै यसको जानकारी भएको भए सस्तो मूल्यको टिकट खरिद गर्थे,’ एक समर्थकले भनेका छन्, ‘अर्जेन्टिनाका अन्य खेलाडी पनि विश्वस्तरका छन्। तर, उनीहरु मेसी होइनन्।’