गत वर्ष विमान दूर्घटनामा मृत्युको मुखबाट फर्किएका ब्राजिलियन क्लब चापेकोएन्सेका डिफेन्डर एलन रुस्चेलले अर्जेन्टिनाका स्टार अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसीसँग जर्सी साटेको खुलासा गरेका छन्।
चापेकोएन्सेले दुई दिनअघि बार्सिलोनासँग मैत्रीपूर्ण खेल खेलेको थियो। गत वर्ष विमान दूर्घटनामा ७१ जनाको ज्यान गएको थियो। जसमा रुस्चेलसहित तीन खेलाडी बाँच्न सफल भएका थिए।
बाँचेका ३ मध्ये रुस्चेल मात्र खेलमा फर्किएका हुन्। बार्सिलोनाले यो घटनापछि चापेकोएन्सेलाई आफ्नो घरेलु मैदानमा खेल्न निम्तो दिएको थियो। खेल हुनुभन्दा अघि नै रुस्चेलले मेसीसँग जर्सी साट्ने आफ्नो ठूलो इच्छा रहेको प्रतिक्रिया दिएका थिए। मैत्रीपूर्ण खेलमा चापेकोएन्से ५–० गोलले पराजित भएको थियो।
रुस्चेलले प्रतिक्रिया दिने क्रममा भनेका छन्, ‘खेल सकिएपछि हामीले जर्सी साटासाट गर्यो। मैले आफ्नो जर्सी मेसीलाई दिए। उनले आफ्नो जर्सी मलाई दिएँ।’ उनले बार्सिलोना क्लबले पनि आफूलाई छुट्टै जर्सी उपहार दिएको र त्यसमा मेसीको हस्ताक्षर भएको बताए।
उनले मेसीको तारिफ गर्दै भने, ‘उनी निकै दयालु मान्छे हुन्। मलाई अकंमाल गरे। शुभकामना दिएँ र म जीवित भएको खबरले आफू खुसी भएको बताएँ।’
रुस्चेलले उनीप्रति आफ्नो ठूलो सम्मान भएको बताउँदै भने, ‘उनी अहिले जे छन्, यसको हकदार हुन।’