काठमाडौंमा भएको साफ यू-१५ फुटबलको उपाधी भारतले जितेको छ। आइतबार फाइनलमा आयोजक नेपाललाई २-१ले हराउँदै भारतले ट्रफि उचालेको हो।
भारतका लागि लालरोकिमा र कप्तान विक्रमप्रताप सिंहले गोल गरेका हुन्। नेपालका लागि ब्रिजेश चौधरीले गोल गरेका थिए। खेलको ४१औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा नेपाल उपाधिबाट बञ्चित भएको हो।
भारतीय खेलाडीले डिबक्समा नेपाली रन्जन पुनलाई लडाएपछि नेपालले पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीमा चौधरीले गोल गरेका थिए। भारतका लागि लालरोकिमाले ५९औं मिनेटमा गोल फर्काएर बराबरी गरे भने कप्तान सिंहले ७४औं मिनेटमा गोल गर्दै जित दिलाएका हुन्।