भुटानको थिम्पुमा बुधबार सम्पन्न अठार वर्ष मुनिको साफ फुटबल प्रतियोगिता विजेता नेपाली खेलाडीहरु बिहीबार स्वदेश फर्किएका छन्।
बिहीबा अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएका नेपाली खेलाडीलाई स्वागत तथा बधाई दिन अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी तथा फुटबलप्रेमी समर्थकहरु पुगेका थिए।
खेलाडीको विमानस्थलमा भव्य स्वागत गरिएको थियो। विजेता खेलाडीले पहिलो खेल भुटानसंग हार्नुनै आफुहरुको जीत भएको बताएका छन् । सोही हारबाट सिक्दै थप रणनीति बनाउन सफल भएकाले विजय प्राप्ति गरेको कप्तान अर्पण कार्कीले बताए। फुटलमा विजय हासिल गरेर आफूहरुले नेपाली दाजुभाइ दिदीबहिनीलाई दसैंको अवसरमा जीतको सबै भन्दा ठूलो उपहार दिन सकेको पनि कार्कीले बताए।
फुटबल प्रशिक्षक छिरिङ लोप्साङले पहिलोपटक कोच भएर अन्तराष्ट्रिय खेल खेलाउदा प्राप्त भएको जीतले आफूलाई सफल तथा खुसी बनाएको प्रतिक्रिया दिए।
भुटानमा भएको खेलमा भारतलाई २–० ले हराउँदै नेपालले विजेता टोलीमा नाम दर्ता गराएको थियो । दुबै गोल दिनेश हेन्जनले गरेका थिए । दुई वर्षअघि नेपालले घरेलु मैदानमा आयोजित १९ वर्ष मुनिको साफ फुटबलको पहिलो उपाधि जितेको थियो । त्यसपछि भने यो प्रतियोगिता १८ वर्ष मुनिको ढाँचामा खेलाउन थालिएको हो । प्रतियोगितामा सहभागी दक्षिण एसियाका पाँच टोलीहरु सबैले एक–अर्कासँग खेलेपछि सबैभन्दा बढी अंक प्राप्त गर्ने टोली विजेता बनेको हो । नेपाल र बंगलादेशको बराबर ९ अंक भएपछि ‘हेड टु हेड’का आधारमा नेपाल विजेता बनेको हो । समूहको खेलमा नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो ।