थ्री स्टार फुटबल क्लबलाई एक करोड ५० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णय साधारण सभाले अनुमोदन गरेको छ।
सोमबारको विशेष साधारण सभाले थ्री स्टारलाई क्षतिपूर्तिबापत यो रकम दिने निर्णय अनुमोदन गरेको एन्फाले जनाएको छ।
भदौ २९ गते बसेको एन्फा कार्यसमिति बैठकले यो निर्णय गरेको थियो। थ्रीस्टारले गत वर्ष एन्फाको लापर्बाहीका कारण एएफसी कपको दोस्रो चरणको खेल खेल्न पाएको थिएन।
आयोजक एसियाली फुटबल संघ(एएफसी)ले पटक पटक थ्री स्टारको सहभागिताबारे औपचारिक जानकारी गराउन एन्फालाई पत्राचार गरेको थियो। तर, एन्फाले समयभित्र जानकारी नगराएपछि पहिलो चरण पार गरेपनि थ्री स्टारले एएफसी कपको दोस्रो चरण खेल्न पाएको थिएन।
दोस्रो चरणमा सहभागिता जनाउन नपाउँदा भएको घाटा क्षतिपूर्ति माग गर्दै थ्री स्टारले एन्फामा निवेदन दिएको थियो। थ्रीस्टारले ६ करोड रूपैयाँ क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेको थियो।