डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले स्पेनको कोपा डेल रे फुटबल प्रतियोगितामा रियल मुर्सियामाथि सहज जित दर्ता गरेको छ।
अन्तिम ३२ को पहिलो लेगमा मंगलबार राति बार्सिलोनाले रियल मुर्सियालाई ३–० ले पराजित गरेको हो।
पहिलो हाफको ४४ औं मिनेटमा पाको एल्कासरले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए। ५३ मिनेटमा जेरार्ड डेउलोफेउले बार्सिलोनाको अग्रता दोब्बर पारेका थिए। ५६ मिनेटमा जोसे दियाजले सानदार गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढेको थियो।
लिओनल मेसी र लुइस सुआरेजलाई आराम दिएको खेलमा २२ वर्षीय जोसेले डेब्यु खेलमै गोल गर्न सफल भएका हुन्। यसअघि जोसे बार्सिलोनाको बी टिमबाट खेल्दै आएका थिए।
बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले खेलमा लिओनल मेसी र लुइस सुआरेजलाई आराम दिएका थिए।