स्पेनिस कोपा डेल रे फुटबलमा रियल मड्रिडले फुएन्लाब्राडालाई पराजित गरेको छ । कोपा डेल रे अन्तर्गत बिहिबार राति अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले फुएन्लाब्राडालाई २- ० ले हराएको हो।
फिफाको बेस्ट प्रशिक्षक जिनेदिन जिदानले फिफा बेस्ट प्लेअर रोनाल्डो सहित पहिलो रोजाईका खेलाडीलाई आराम दिएको खेलमा रियलले जित हासिल गर्न पेनाल्टीको सहारा लिनुपरेको हो।
फुएन्लाब्राडाको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा रियल मड्रिडले दुई गोल गर्दै जित निकाल्यो । दोस्रो रोजाइका खेलाडीलाई मैदान उतारेको रियलले खेलको ६३ औं मिनेटमा मार्को एसेन्सियोको पेनाल्टी गोलबाट अग्रता बनायो ।
खेलको ८० औं मिनेटमा लुकास भास्कुएजले पेनाल्टीमा गोल गर्दै रियललाई २ – ० को जित दिलाए । तर, खेलको अन्तिम १० मिनेट दुवै टोलि १० खेलाडीमा समेटिएको थियो। खेलको ८० औं मिनेटमा फुएन्लाब्राडाका पाको कान्डेला दोहोरो पहेलो कार्डसहित मैदानबाट बाहिरिएका थिए । यस्तै रियलका जेसुसुले ८९ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।
दुई टोलीबीचको दोस्रो लेग रियलको घरेलु मैदानमा हुने छ । कोपा डेल रे अन्तर्गत नै अन्तिम ३२ को पहिलो लेगमा लेभान्टे र लास पलमासले पनि जित निकालेको छ ।
कोपा डेल रे अन्तर्गत अन्तिम ३२ कै अन्य खेलमा लसपलमसले डेपोर्टिभा ला कुरानालाई ४-१ तथा लेभान्टेले गिरोनालाई २-० ले हराएको छ।