भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले सचिन तेन्दुलकरको जर्सी नम्बर १० लाई ‘रिटायर’ गर्ने फैसला गरेको छ।
अन्तिम पटक सचिनले १० नम्बर जर्सी लगाएर १८ मार्च सन् २०१२ मा मैदान उत्रिएका थिए। बंगलादेशको राजधानी ढाकामा खेलेको एसिया कपनै सचिनका लागि करियरको अन्तिम वान डे खेल थियो।
पाकिस्तानसँग भएको समूह चरणको खेलमा सचिनले ४८ बल खेल्दै महत्वपूर्ण ५२ रन बनाएका थिए। यही खेलमा अहिलेका कप्तान विराट कोहलीले १८३ रनको पारी खेलेको खेलमा भारत ६ विकेटले विजयी भएको थियो।
सचिन पछि कसले लगायो १० नम्बर जर्सी
सचिन तेन्दुल्कर रिटायर भएको करिब ५ वर्षसम्म पनि उनले लगाउँदै आएको जर्सी कुनै पनि भारतीय खेलाडीले लगाएनन्।
यसै वर्ष पाँच वान खेल्न श्रीलंका भ्रमणमा गएको भारतीय टोलीले चौथो खेलमा तिब्र गतिका युवा बलर शार्दुल ठाकुरले १० नम्बरको जर्सी लगाएर श्रीलंकाविरूद्ध खेले।
२६ वर्षीय युवाले १० नम्बर जर्सी लगाएर मुलुकलाई सफलतासमेत दिलाए। उनले ७ ओभर बलिङ गर्दै २६ रन खर्चिएर १ विकेट लिएका थिए।
तर युवा बलर शार्दुलको चर्चा उनको परफमेन्सभन्दा बढी उनको जर्सीको भयो। सोसल मिडियामा ट्रोलनै बनेको उनले लगाएको जर्सी सचिनको चिनो भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विरोध जनाए।
सचिनका फ्यानहरूले सोशल मीडियामा लेखेका छन्‘१० सिर्फ़ एक नम्बर नहीं है, यह तो ९० के दशक से जुड़ी हमारी कई यादें हैं।’
यसैबीच शार्दुलले एक अन्तर्वार्तामा बताए अनुसार उनले आफूले लगाएको जर्सी नम्बर आफ्नो जन्मदिन अनुसार छानेका थिए।
उनको जन्मदिन १६-१०-१९९१ हो। यो सबै अंक जोड्दा हुन आउने कुल संख्या २८ हुन्छ। त्यस्तै २+८=१० हुने भएकाले आफूले त्यो नम्बरको जर्सी छानेको बताएका थिए।
यद्यपी चौतर्फी विवादका बाबजुत अक्टोबरमा न्यूज़ील्याण्डबिरूद्ध भएको वार्म अप म्याचमा उनी ५४ नम्बरको जर्सी लगाएर मैदानमा गएका थिए।
फ़िल ह्यूज़को जर्सी रिटायर
क्रिकेट मैदानमै मृत्यु भएका अस्ट्रेलियन युवा क्रिकेटर फ़िल ह्यूजको मृत्यु पछि उनले लगाएको जर्सी कसैले लगाएका छैनन्।
सन् २०१४ मा साउथ अस्ट्रेलियाविरूघ ब्याटिङ गरिरहेका बेला न्यू साउथ वेल्सका तिब्र गतिका बलर सीन एबटको एक बाउन्सर उनकी गर्दनमा लागेपछि उनको मृत्यु भएको थियो।
यस आकस्मिक घटनाले पुरै क्रिकेट दुनियाँलाई स्तब्ध बनाएको थियो। यसै बेला अस्ट्रेलियाली कप्तान तथा ह्यूज़का सहयात्री माइकल क्लार्कले क्रिकेट अस्ट्रेलियाले ह्यूज़ले लगाउने गरेको जर्सी नम्ब ६४ लाई रिटायर गर्ने निर्णय गरेका थिए।
क्रिकेट अस्ट्रेलिया कप्तानको कुरामा सहमत भयो। ‘हामीले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय क्रिकेटबाट जर्सी नम्बर ६४ लाई हटाउने निर्णय गर्यौ।, यो स्वर्गिय ह्यूज़का लागि हाम्रो तर्फबाट श्रद्धञ्जली हुनेछ। हाम्रो ड्रेसिङ रूम कहिले पनि पहिलेको जस्तो हुनेछैन,’ कप्तान क्लार्कले भनेका थिए।
म्यारोडोनाको जर्सी नम्बर १०
अर्जेन्टिना फुटबल स्टार डिएगो म्यारोडोनाले लगाउँदै आएको जर्सी नम्बर १० पनि अहिले कुनै अर्जेन्टिनी खेलाडीले लगाउने गरेका छैनन्।
म्यारोडोनाले सन् १९९७ देखि व्यवसायिक फुटबलबाट सन्यास लिएसँगै उनले लगाउँदै आएको १० नम्बरको जर्सी अर्जेन्टिनाको फुटबल एसोसिएसनले रिटायर गर्ने निर्णय गरेको थियो।
सन् २००१ मा अर्जेन्टिनी फुटबल एसोसिएशनले म्यारोडोनाको सम्मानका लागि भन्दै उनले लगाउँदै आएको जर्सी नम्बर १० प्रयोग नगर्ने निर्णय गरेको थियो।
हालै आएर अर्जेन्टिनी स्टार लियोनल मेसीले १० नम्बर जर्सी लगाएर खेल्ने गरेका छन्।
माइकल जोर्डनको जर्सी नम्बर २३
अमरिकी बास्केटबल खेलाडी माइकल जेफ्री जोर्डनले लगाउँदै आएको २३ नम्बरको जर्सी पनि प्रयोग नगर्ने निर्णय गरेको छ।
२३ नम्बर जर्सी लगाएर मैदानमा उत्रिने उनले पहिचाननै भइसकेको थियो।
जोर्डनले सन् १९८४ मा शिकागो बुल्सका तर्फबाट खेल्न सुरू गरेका उनले सन् १९९१, १९९२ र १९९३ मा लगातार टिमलाई च्याम्पियन बनाएका थिए। सन् १९९३ मा सन्यास लिएका उनले १९९९ मा फेरि खेलमा फर्किएका थिए।
युवा अवस्थामा ४५ नम्बरको जर्सी लगाएर खेल्ने उनी आफ्ना भाईलाई उक्त जर्सी लिएर उनले २३ नम्बरको जर्सी लगाउन सुरू गरेका थिए।
जोर्डनले सन्यास लिएपछि उनको सम्मान स्वरूप जर्सी नम्बर २३ अहिलेसम्म कसैलाई पनि प्रयोग गर्न दिइएको छैन।