बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ ।
उक्त कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।
बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना उक्त कार्यक्रममा सहभागी हुनेछन् ।
बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्रलाई जोड्नका लागि बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराए ।
कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
विभिन्न क्षेत्रका विज्ञ तथा प्रमुख व्यक्तित्वको सम्बोधनपछि सरकारका प्रतिनिधिले जवाफ दिनेछन् ।
पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको थियो।
गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिकीकरण गरेका थिए भने बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यले सहजीकरण गरेका थिए ।
पत्रकार सम्मेलनमा गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले कार्यक्रम सुरु गर्नुभन्दा पनि निरन्तरता ठूलो कुरा भएको बताउँदै बाह्रखरीले विगत पाँच वर्षदेखि निरन्तरता दिएको भन्दै प्रशंसा गरेका थिए ।
प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगन्ज, चितवन, पोखरा, बुटवल, नेपालगन्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् ।
प्रतियोगिताामा सहभागी गल्फरहरुले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् ।
यस प्रतियोगितामा ‘खेलाडी छनोट समिति’ले छनोट गरेका खेलाडीलेमात्रै भाग लिन पाउनेछन् ।
१८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा हुनेछ।