अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसर पारी लुम्बिनीमा अन्तर्राष्ट्रिय पिस म्याराथन हुँदै छ।
लुम्बिनी प्रदेश खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीले संयुक्त रूपमा पिस म्याराथन आयोजना गरेका हुन्।
अप्रिल ६ तारिखमा परेको अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा लुम्बिनीमा शान्तिको कामना गर्दै प्रतियोगिताको आयोजना गरिएको ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले जानकारी दिए।
महासचिव श्रेष्ठले शान्तिको सन्देश विश्वभर फैलाउँदै लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको पिस म्याराथनमा २०७ वटै राष्ट्रका ओलम्पिक कमिटीलाई आमन्त्रण गरिएको बताए।
बिहीबार बिहान ७ बजे कपिलवस्तुको तिलौराकोट दरबारबाट सुरू गरिएको म्याराथन लुम्बिनीको शान्ती दीपमा आएर समापन हुने महासचिव श्रेष्ठले बताए।
‘गौतमबुद्धका पिता राजा शुद्दोधनको दरबारबाट म्याराथन सुरू भई बुद्धले हिँडेको पदमार्ग पछ्याउँदै लुम्बिनीको शान्ति दीपमा आएर समापन हुनेछ,’ उनले भने।
उनका अनुसार प्रतियोगितामा सबै राष्ट्रका कम्तिमा एकएक जना खेलाडी र ओलम्पिक कमिटीलाई आमन्त्रण गरिएको भएपनि यसपटक भने भारत र श्रीलंकाबाट मात्रै सहभागी हुनेछन्।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै भारत र श्रीलंकाका गरी ५० बढी धावकले प्रतियोगितामा भाग लिनेछन्। आगामी वर्षका लागि भने २०७ राष्ट्रकै ओलम्पिक कमिटी र विशेष गरी बौद्ध धर्म मान्ने देशहरूलाई प्रतियोगितामा भाग लिनकै लागि आमन्त्रण गरिने श्रेष्ठले बताए।
लुम्बिनी खेलकूद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईका अनुसार कुल ४० लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुने सहभागिले १ लाख पुरस्कार प्राप्त गर्नेछन्।
उत्कृष्ट १० औं स्थानसम्मलाई पुरस्कारको व्यवस्था गरिएको र दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने भट्टराईले जानकारी दिए।
यता अन्तराष्ट्रिय खेलकुद दिवसकै अवसर पारी मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि बिहीबार लुम्बिनीमा हाफ म्याराथन आयोजना गरेको छ। महिला र पुरूषको अलग-अलग हुने प्रतियोगितामा सहभागिताका लागि ६० जिल्लाबाट २ हजार १ सय जनाले नाम दर्ता गराएको एकेडेमीका अध्यक्ष धु्रव आचार्यले जानकारी दिए।
लुम्बिनीस्थित शान्ति दीपबाट सुरू हुने प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। ओलीले शान्ति दीप बालेर प्रतियोगिताको उद्घाटन गरेपछि त्यही दीपसहित खेलाडीहरू म्याराथनमा सहभागी हुनेछन्।
म्याराथन पर्सा चोकबाट महिलबार हुँदै २ फन्का लगाएर २१ किलोमिटरको दुरी पार गरी समापन गरिने अध्यक्ष आचार्यले बताए।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार दिइनेछ।
यस्तै महिलातर्फ प्रथम हुनेलाई १ लाख ५१ हजार, दोस्रोलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार रुपैयाँ दिइने छ। दुवै विधामा दशौंसम्मका लागि नगद पुरस्कार राशीसंगै प्रमाणपत्र तथा मेडल प्रदान गरिने आयोजकले जनाएको छ।