सहभागी १ सय ९ प्रतिस्पर्धीलाई उछिन्दै जुम्लाका धिरज बुढा र प्युठानकी हुमी बुढा मगरले यस बर्षको पाँचपोखरी हाफ म्याराथनको पुरुष र महिला बिधाको उपाधि हात पारेका छन्।
सिन्धुपाल्चोकको थाङ्पाल गाउँपालिकाको रैथानेश्वरीदेखि सुरु भएर जिल्लाको उत्तर पश्चिमी भेगमा अवस्थित पाँचपोखरी (४१००) मिटरको उचाइ छिचोल्दै उनीहरु विजयी बनेका हुन्।
हरेक वर्ष आयोजना हुँदै आएको म्याराथनको यो दोस्रो संस्करण हो । जिल्लाको थाङ्पाल गाउँपालीकाको रैथानेश्वरीदेखि सुरुहुने २४ किलोमिटरको म्याराथन पार गर्न धिरज बुढालाई २ घण्टा ९ मिनेट र हुमी बुढा मगरलाई ३ घण्टा ७ मिनेट लागेको थियो ।
पाँचपोखरी हाफ म्याराथनमा सहभागी १ सय ९ प्रतिस्पर्धीलाई उछिन्दै पुरूषतर्फ विजयी भएका जुम्लाका धिरज बुढा। तस्बिरः सेतोपाटी
म्याराथनमा पुरूष तर्फ ओखलढुंगाका सुवास कार्की दोस्रो र सोलुखुम्बुका सुमन कुलुङ तेस्रो भएका थिए। उक्त दुरी पार गर्न उनीहरुलाई २ घण्टा ४५ मिनेट र २ घण्टा २५ मिनेट लागेको थियो।
त्यस्तै महिलातर्फ सिन्धुपाल्चोक, थकनीकी प्रिया तामाङ र धादिङकी रसिलाले दोस्रो र तेस्रो स्थान सुरक्षीत गरे ।
पर्यटन प्रवद्र्धनका लागि खेलकुद भन्ने मुल नाराका साथ स्वस्थ्य रहन खेलकुद र खेलकुदका माध्यमबाट पाँचपोखरीको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथन प्रतियोगीतामा स्वदेशी तथा विदेशीगरि जम्मा १ सय ९ जनाले सहभागीता जनाएका थिए ।
‘ठूलाठूला अक्करे पहाड र गोरेटो दौडिनुभन्दा उच्च हिमाली भू–खण्ड दौडिनु निकै चुनौतीपुर्ण भएपनि जित हासिल गर्दा गौरव महसुस भएको छ,’ पुरुष तर्फका विजेता धिरज बुढाले प्रतिक्रिया दिए ।
पुरुष तथा महिला म्याराथन विजेताहरुले क्रमश पचास हजार, तीस हजार, बीस हजार, दश हजारका साथ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
जिल्लाकै गौरब बोकेको पर्यटकीय स्थल पाँचपोखरीलाई खेलकुद मार्फत जोडेर पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यका साथ म्याराथन आयोजना गरिएको कार्यक्रमकी संयोजक कान्छीमाया तामाङले बताइन् । आयोजकका अनुसार म्याराथनलाई आगामी वर्षहरुमा थप स्तरवृद्धि गर्दै निरन्तरता दिइने पाँचपोखरीमा आयोजित कार्यक्रममा बताइएको थियो ।