आगामी वर्ष नेपालमा १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।
नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघको आयोजनामा २०७६ सालको असारमा प्रतियोगिता आयोजना हुने बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो।
प्रतियोगिता २०७६ साल असार ५ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको हो।
१२औं संस्करणसम्म आइपुग्दा नेपालमा तेस्रो पटक प्रतियोगिताको आयोजना हुन लागेको हो। प्रतियोगितामा दक्षिण एसियाका सात र अफगानिस्तान गरी कूल ८ राष्ट्रका खेलाडीहरुले सहभागिता जनाउने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी दिए।
प्रतियोगितामा शारीरिक सुगठनतर्फ विभिन्न ९ तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने पुरूष फिटनेस फिजिक्समा दुई र महिला एथ्लेटिक फिजिक्समा दुई विधामा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा पुरूष फिटनेस र महिला एथ्लेटिक्स विधा पहिलो पटक समावेश भएको नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघले जनाएको छ।
शारीरिक सुगठनतर्फ पुरुषको ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।
यस्तै पहिलो पटक हुन लागेको पुरुष फिटनेसमा १७० सेमी र सो भन्दा माथि तथा महिला एथ्लेटिक फिजिक्समा १६५ सेमी र सो भन्दा माथिको उचाई समूहमा प्रतिस्पर्धा हुनेछ।
आयोजकका अनुसार चार दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन खेलाडीहरु आउने र दर्ता गरिने छ। प्रि जजिङ र फाइनल चरणका खेल असार ६ र ७ गते हुनेछन्। ८ गते विदेशी खेलाडीहरु स्वदेश फर्कने कार्यक्रम रहेको छ।
दक्षिण एसियाली शारीरिक सुगठनका लागि नेपाली खेलाडीको छनोट २०७६ साल वैशाख २० र २१ गते हुने सातौं मिस्टर हिमालयको विजेताबाट छानिने नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले जनाएका छ।
मिस्टर हिमालयमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई दक्षिण एसियाली स्तरको प्रतियोगिताको लागि छनोट गरिने भएको हो।