नेपाली राष्ट्रिय महिला फुटबल टिमबाट कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बुले पोखरा रंगशालामा एकैचोटी अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए।
दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला फुटबलमा मंसिर २३ गते भारतसँग पराजित भएपछि सो टिम रजत पदकमा चित्त बुझाउन बाध्य भयो।
यी दुईले सन्यास लिँदै गर्दा सहकर्मी खेलाडीको मात्र होइन, दर्शक र उपस्थित अतिथिको आँखा रसाएका थिए। सन्यास घोषणा गरेका खेलाडीद्वय थापा र लिम्बु दुबै जना भावविह्ल मुद्रामा देखिए।
हजारौं दर्शकको उपस्थितिमा भारतसँगको खेलमा हार्नुको पीडा त छँदै थियो। त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिने घोषणा। अब उनीहरुले नेपाली राष्ट्रिय टिमबाट फुटबल खेल्ने छैनन्।
थापा र लिम्बुको सन्यास भने ‘संसार जित्न अघि बढेको सिपाही हारेर युद्ध नलड्ने घोषणा गर्नु’ सरह भयो। किन भने उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नेपालका लागि स्वर्ण पदक जितेर सन्यास लिने मनसाय राखेका थिए।
दुबै खेलाडीले झण्डै एक वर्षअघि देखि नै सन्यास लिने योजना बनाएका थिए। ‘यसबारे प्रशिक्षक र खेलाडी साथीहरुसँग पनि कुरा गर्थेँ’ सन्यास लिएकी नेपाली टिमका कप्तान निरु थापाले भनिन्, ‘देशका लागि खुसी अर्थात एउटा स्वर्ण जितेर सन्यास लिन चाहन्थें।’
एउटै खेलबाट एकै दिन सन्यास घोषणा गरेका यी दुई खेलाडी राष्ट्रिय टिममा भने सँगसँगै इन्ट्री भएका होइनन्। उमेरले दुई वर्ष मात्र फरक रहेका उनीहरु सुुरुमा भने नेपाल पुलिस क्बलमा कन्ट्रयाक्टमा सँगै खेलेका थिए। २०६८ तिर नेपाल पुसिल क्बलले कन्ट्रयाक्टमा लिएका थापा र लिम्बु त्यसपछि छुट्टिए। लिम्बु शशस्त्र प्रहरीमा भर्ना भइन् भने थापा नेपाल पुलिसकै कन्ट्रयाक्टमा अहिलेसम्म खेलिरहेका छन्।
यसरी छुट्टिएका उनीहरु राष्ट्रिय टिमबाट सन् २०१४ देखि सँगै खेल्न थाले। पाकिस्तानमा आयोजित महिला फुटबलमा भुटान विरुद्ध खेल्दा लिम्बुले राष्ट्रिय टिममा इन्ट्री गरिन्। यसअघि सन् २०१० देखि नै थापा राष्ट्रिय टिमबाट खेल्न थालिसकेकी थिइन्।
थापाले म्यानमारमा भएको क्वालिफाई खेलमा भारत र बंगलादेश विरुद्ध गोल गरेर बराबरीमा रोकेकी थिइन्। उनले नौ वर्षे अन्तर्राष्ट्रिय फुटबल यात्रामा देशका लागि १२ गोल गरेकी थिइन्।
चीनमा गत वर्षको कात्तिकमा भएको मैत्रीपुर्ण महिला फुटबल प्रतियोगिताबाट कप्तानी सम्हाल्ने अवसर पाएकी थापाको संयोग कस्तो भयो भने उनी साग खेलबाट राष्ट्रिय टिममा प्रवेश गरिन् र साग खेलबाटै विदा लिइन्। सन् २०१० मा बङ्गलादेशमा भएको ११ औं सागबाट राष्ट्रिय टिममा प्रवेश गरेकी थापा नेपालमा भएको १३ औं सागबाट विदा भइन्।
नेपालगञ्जकी निरु थापा र मोरङकी मनमाया लिम्बुको फुटबल प्रतिको लगाव भने उस्तै थियो। दुबै जना गाउँघरमा केटाहरुसँग फुटबल खेल्थे, केटाहरुले खेलेको देखेर ‘म पनि खेल्न सक्छु’ भनेर आत्मबल दह्रो पार्थे।
जब उनीहरुले केटीहरुको पनि फुटबल खेल हुन्छ भनेर थाहा पाए, त्यसपछि काठमाडौं आए। उनीहरुलाई खेलकुदमा लाग्न समाजले आलोजना गर्दा पनि परिवारले भने साथ दिइरहे। ‘दाइहरु खेलिरहेको हेरिरहन्थें’ निरुले भनिन्, ‘जब केटीहरुको पनि फुटबल हुन्छ भनेर थाहा पाएँ, एक दिन म पनि राष्ट्रिय टिमबाट खेल्न सक्छु भनेर मनमा लागिरहन्थ्यो।’
देशका लागि जीवनको उर्जाशील समय खर्चेका उनीहरु खेलले मात्र जीवन नचल्ने निचोडमा पुगेका छन्। ‘खेलले मात्र नहुने रहेछ’ निरुले सेतोपाटीलाई भनिन्, ‘लाइफ पनि हेर्नुपर्ने, बनाउनुपर्ने रहेछ।’
उनीहरुले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिएपनि क्लबबाट भने खेलिरहेने बताएका छन्। यसका साथै प्रशिक्षक र रेफ्रीका लागि प्रशिक्षण लिनेछन्।
२३ मंसिरमा भारतसँग २–० ले पराजित भएपछि भावविह्ल भएका उनीहरुले खेल भने धेरै सुधार भएको अनुभव गरेका छन्। ‘जे होस सागमा हाम्रो टिमको गेम देखेर खुशी छु, स्कोर नभएको हो’ निरुले भनिन्, ‘सक्ने जति गरेकै हो ।’
महिला र पुरुष फुटबल प्रति हेर्ने दृष्टीकोण नै फरक रहेको उनले अनुभव सुनाइन्। ‘महिला फुटबल र पुरुष फुटबललाई हेर्ने नजर नै फरक छ’ उनले भनिन्’
खेल खेलेर नै जीवन चलाउन सकिने विश्वास नभएसम्म खेलाडी ढुक्क भएर खेल्न नसक्नेमा उनीहरु दुबै एकमत देखिए। साग महिला फुटबलको पुरस्कार वितरण समारोहमा सन्यास लिँदा उनीहरु दुबैलाई कदर पत्र प्रदान गरियो। यसका साथै क्याप्टेन निरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आधा तोला सुन र चार तोला चाँदी जडित पदक प्रदान गर्यो भने अर्का खेलाडी मनमायालाई पनि उक्त पदक दिने घोषणा गर्यो।
राष्ट्रिय टिमबाट विदा लिएर नयाँ बाटोमा प्रस्थान गरेका उनीहरुले ‘साथीहरुसँगै रोएको र हाँसेका क्षणहरु धेरै मिस हुने’ बताए। अझ यो भन्दा पनि ठूलो त राष्ट्रिय टिमबाट अन्तिम दिन फुटबल खेल्दा देशका लागि जित निकाल्न नसकेको कुराले सताउने उनीहरुको भनाई छ।