नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफू एसोसिएसट राष्ट्र तर्फको नम्वर वान बलर भएको बताएका छन्।
अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरिका विरुद्ध ६ विकेट लिएका सन्दीपले अफगानिस्तान टेस्ट राष्ट्र भैसकेकाले आफ्नो तुलना अफगानिस्तानका रसिद खानसँग गर्न नमिल्ने बताए।
‘रसिदपछि ६ विकेट लिने एसोसिएट राष्ट्रका दोस्रो खेलाडी बन्न पाउँदा एकदम खुसी छु’ सन्दीपले भने, ‘तर उहाँ अब टेस्ट प्लेयर हुनुभयो। बिर्सनुस्, मै हुँ नंम्बर वान’, उनले हाँस्दै भने।
सन्दीपले त्रिकोणात्मक सिरिजमा कूल ८ विकेट लिएका छन्। उनले अमेरिकाविरुद्धको पहिलो खेलमा पनि २ विकेट लिएका थिए। सन्दीपले ओमन विरुद्धका दुवै खेलमा भने विकेट लिन सकेनन्।
नेपालका महत्वपूर्ण बलर सोमपाल कामी घाइते भएपछि नेपालले सन्दीपलाई सिरिजमा सुरुआती ओभरमै बलिङ गराएको थियो। उनले सुरुआती ओभरमै बलिङ गर्न पाएकोमा खुसी व्यक्त गरे।
सन्दीपले प्रतियोगितामा सुसन भारीको प्रदर्शनको तारिफ गरे। ‘सुसनले टुर्नामेन्ट भरी एकरुपताले खेल्यो’, सन्दीपले भने। सुसनले सिरिजमा ११ विकेट लिएका थिए। उनले अमेरिका विरुद्ध आजै भएको अन्तिम खेलमा चार विकेट लिएका थिए।
त्यस्तै अमेरिका विरुद्धको पहिलो खेलमा पनि सुसनले ३ विकेट लिएका थिए। सुसनले त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमन विरुद्ध डेब्यु गरेका हुन्। डेब्यु खेलमा उनले ३ विकेट लिएका थिए। ओमन विरुद्धको दोस्रो खेलमा उनले १ विकेट हात पारेका थिए।