गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी, प्रशिक्षक र संघलाई घोषित पुरस्कार वितरण गर्ने प्रकिया सुरु भएको छ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशले लकडाउनको परिस्थितिको सामना गर्नुपरेकाले विजयी खेलाडी, प्रशिक्षक तथा खेल सङ्घहरुलाई सरकारका तर्फबाट घोषित पुरस्कार वितरण र सम्मानको कार्यक्रम प्रभावित भए पनि मन्त्रालयका तर्फबाट पुरस्कार रकम सम्बन्धित बैंक खातामा जम्मा गर्ने प्रक्रिया सुरु भएको जानकारी दिए।
मन्त्रालयको लेखा शाखाका सीमित कर्मचारी सामाजिक दूरीका साथ व्यक्तिगत खेलका विजेता र सामूहिक खेल विधाका विजेता खेलाडीले पाउने पुरस्कारको रकम जम्मा गर्ने काममा खटिइरहेकाले दुईतीन दिनभित्र सबै खेलाडीले प्राप्त गर्नुपर्ने पुरस्कार रकम उनीहरुको बैंक खातामा जम्मा भइसक्ने मन्त्री विश्वकर्माको भनाइ छ।
चैत पहिलो साता मन्त्रालयले सागका पदक विजेताले पेश्की फर्छ्यौट गरेपछि मात्र पुरस्कार पाउने बताएको थियो।
पुरस्कार पाउनले बेरुजु वा अन्य बाँकी रहेको-नरहेको भन्ने स्व:घोषणा गर्ने बाध्यात्मक व्यवस्था भएकाले पुरस्कार वितरण लम्बिएको थियो।
सबै खेलाडी तथा प्रशिक्षकको पेश्की फर्छ्यौटको प्रक्रिया सकिएपछि पुरस्कार उपलब्ध गराउने प्रक्रिया पनि सुरु भएको हो।
पुरस्कारका लागि राष्ट्रिय खेलकुद परिषद्ले सबैको खाता अद्यावधिक गरेको थियो।
यसअघि फागुनमा मन्त्रिपरिषद्ले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको थियो।
कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ।
मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?
|
अहिले पाउने पुरस्कार |
पहिलाको पुरस्कार |
व्यक्तिगत स्वर्ण |
९ लाख रुपैयाँ |
५ लाख रुपैयाँ |
व्यक्तिगत रजत |
६ लाख रुपैयाँ |
३ लाख रुपैयाँ |
व्यक्तिगत कास्य |
३ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |
२ भन्दा बढी व्यक्तिगत स्वर्ण |
प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ |
व्यवस्था नभएको |
टिम स्वर्ण - जनही |
६ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |
टिम रजत - जनही |
४ लाख रुपैयाँ |
१ लाख ७५ हजार रुपैयाँ |
टिम कास्य - जनही |
३ लाख रुपैयाँ |
१ लाख रुपैयाँ |
स्वर्ण दिलाउने प्रशिक्षक |
५ लाख रुपैयाँ |
३ लाख रुपैयाँ |
रजत दिलाउने प्रशिक्षक |
३ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |
कास्य दिलाउने प्रशिक्षक |
२ लाख रुपैयाँ |
१ लाख रुपैयाँ |
स्वर्ण दिलाउने सहायक प्रशिक्षक |
३ लाख रुपैयाँ |
१ लाख ७५ हजार रुपैयाँ |
रजत दिलाउने सहायक प्रशिक्षक |
२ लाख रुपैंयाँ |
१ लाख रुपैयाँ |
कास्य दिलाउने सहायक प्रशिक्षक |
१ लाख रुपैयाँ |
५० हजार रुपैयाँ |
स्वर्ण दिलाउने सम्बन्धित संघ |
५ लाख रुपैयाँ |
५ लाख रुपैयाँ |
रजत दिलाउने सम्बन्धित संघ |
३ लाख रुपैयाँ |
३ लाख रुपैयाँ |
कास्य दिलाउने सम्बन्धित संघ |
२ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |