१३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई घोषित पुरस्कार चार महिनापछि प्रदान गरिएको छ।
गत मंसिरमा नेपालमा सम्पन्न साग लगत्तै विजेता खेलाडीलाई प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रम गरेर पुरस्कार दिने घोषणा गरेका थिए।
युवा तथा खेलकुद मन्त्रालयको लेखा शाखाका अनुसार सागमा पदक जित्ने ४ सय ३५ जना खेलाडीलाई बैंक खातामार्फत पुरस्कार रकम पठाइएको हो।
पुरस्कारका लागि १९ करोड ५३ लाख रुपैयाँ खर्च भएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय खेलकुद परिषद्का राष्ट्रिय टिम तयारी शाखा प्रमुख महेन्द्रकुमार राईका अनुसार बुधबार साँझसम्म सबै खेलाडीको खातामा पुरस्कार रकम जम्मा गरिएको छ।
'सबै खेलाडीको खातामा पुरस्कार रकम जम्मा गर्ने काम सकिएको छ,' उनले भने,'प्राविधिक त्रुटि नभएको अवस्थामा खेलाडीले रकम झिक्न सक्छन्।'
प्रशिक्षक र संघका लागि घोषित पुरस्कार भने दिइएको छैन। कतिपय प्रशिक्षकको पेश्की फर्छौट नभएकाले पुरस्कार प्रदानमा ढिलाइ हुने भएको हो।
यसअघि चैत पहिलो साता मन्त्रालयले सागका पदक विजेताले पेश्की फर्छ्यौट गरेपछि मात्र पुरस्कार पाउने बताएको थियो। पुरस्कार पाउनले बेरुजु वा अन्य बाँकी रहेको-नरहेको भन्ने स्व:घोषणा गर्ने बाध्यात्मक व्यवस्था भएकाले पुरस्कार वितरण लम्बिएको थियो।
फागुनमा मन्त्रिपरिषद्ले खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि संशोधनलाई स्वीकृत गरेपछि खेलाडीका लागि पुरस्कार दिने बाटो खुलेको थियो।
कार्यविधिमा सार्वजनिका कार्यक्रम गरेर पुरस्कार दिनु पर्ने उल्लेख भए पनि लक डाउनका कारण बैंक खातामार्फत पुरस्कार प्रदान गरिएको हो।
कार्यविधिमा सागमा स्वर्ण विजेताका लागि ९ लाख, रजतलाई ६ लाख र कास्यलाई ३ लाख दिने व्यवस्था छ। एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीका लागि एक स्वर्णको ११ लाख दिने गरी कार्यविधिमा संशोधन गरिएको छ।
नयाँ कार्यविधिमा टिममा स्वर्ण विजेतालाई जनही ५ लाख, रजत विजेतालाई ३ लाख र कास्यका लागि २ लाख पुरस्कार दिने उल्लेख छ।
मंसिर तेस्रो साता सकिएको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी जम्मा २०६ पदक जितेको थियो।
खेलाडी, प्रशिक्षक र संघले कति-कति पुरस्कार पाउँछन्?
|
अहिले पाउने पुरस्कार |
पहिलाको पुरस्कार |
व्यक्तिगत स्वर्ण |
९ लाख रुपैयाँ |
५ लाख रुपैयाँ |
व्यक्तिगत रजत |
६ लाख रुपैयाँ |
३ लाख रुपैयाँ |
व्यक्तिगत कास्य |
३ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |
२ भन्दा बढी व्यक्तिगत स्वर्ण |
प्रत्येक स्वर्णको ११ लाख रुपैयाँ |
व्यवस्था नभएको |
टिम स्वर्ण - जनही |
६ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |
टिम रजत - जनही |
४ लाख रुपैयाँ |
१ लाख ७५ हजार रुपैयाँ |
टिम कास्य - जनही |
३ लाख रुपैयाँ |
१ लाख रुपैयाँ |
स्वर्ण दिलाउने प्रशिक्षक |
५ लाख रुपैयाँ |
३ लाख रुपैयाँ |
रजत दिलाउने प्रशिक्षक |
३ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |
कास्य दिलाउने प्रशिक्षक |
२ लाख रुपैयाँ |
१ लाख रुपैयाँ |
स्वर्ण दिलाउने सहायक प्रशिक्षक |
३ लाख रुपैयाँ |
१ लाख ७५ हजार रुपैयाँ |
रजत दिलाउने सहायक प्रशिक्षक |
२ लाख रुपैंयाँ |
१ लाख रुपैयाँ |
कास्य दिलाउने सहायक प्रशिक्षक |
१ लाख रुपैयाँ |
५० हजार रुपैयाँ |
स्वर्ण दिलाउने सम्बन्धित संघ |
५ लाख रुपैयाँ |
५ लाख रुपैयाँ |
रजत दिलाउने सम्बन्धित संघ |
३ लाख रुपैयाँ |
३ लाख रुपैयाँ |
कास्य दिलाउने सम्बन्धित संघ |
२ लाख रुपैयाँ |
२ लाख रुपैयाँ |