कोरोना भाइरसका कारण संसारका अधिकांश देश लकडाउन छन्। घरभित्रै बस्नुपर्दा मान्छेलाई आ-आफ्नै समस्या छन्। खेलाडीहरूलाई भने व्यायाम र अभ्यास कसरी-कहाँ गर्ने भन्ने चिन्ता छ।
यही चिन्तालाई तेक्वान्दो खेलाडी जोडी दीपक विष्ट र आयशा शाक्यले अवसरमा रूपान्तरण गरेका छन्। सधैं खेलमा व्यस्त रहनुपर्ने भएकाले दुवैले आफ्ना दुई छोरालाई अहिले समय दिन पाएको बताउँछन्।
'बच्चाहरूलाई समय दिन नपाएकाले उनीहरूको बानी समेत थाहा थिएन। बिहानको खाजापछि स्कुल जान्थे, त्यसपछि मामाघर। बेलुका मात्र लिन जान्थ्यौं,' राष्ट्रिय तेक्वान्दो टोलीका प्रशिक्षक दीपकले भने, 'अहिले छोराहरूसँगै बसेर खान पाइएको छ। उनीहरूले के-के मन पराउँछन् भन्ने बल्ल पो थाहा भयो। लकडाउनमा परिवारसँगको सम्बन्ध अझ बलियो भएको छ।'
लगातार चार पटक दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेर कीर्तिमान बनाएका दीपकले लकडाउनको समय भान्सामा पनि धेरै बिताए। श्रीमती आयशाको ढाडमा समस्या देखिएपछि उनले भान्साको काम सम्हाले।
'कति धेरै काम हुने रहेछ भान्सामा,' उनले सुनाए।
श्रीमान दीपकलाई घरायसी कामको बोझका विषयमा अनुभव गराउन लकडाउनले सहयोग गरेकोमा आयशा मख्ख छन्।
'पहिले यो भएन त्यो भएन भन्नुहुन्थ्यो। आफैंले काम गर्दा घरमा कति काम हुँदो रहेछ भन्ने थाहा पाउनुभयो,' आयशाले भनिन्।
१३ औं सागमा दुई स्वर्ण जितेकी आयशा पनि लकडाउनका कारण पारिवारिक माहोल रमाइलो भएको बताउँछिन्। उनले छोराहरूलाई नजिकबाट चिन्ने मौका पनि यही लकडाउनमा पाइन्।
भनिन्, 'बच्चाहरूको बानी नै फेरिइसकेको रहेछ। सानो बाबु यति बोल्ने भइसकेको रहेछ। उसले कति खान्छ? के मनपर्छ भन्ने बल्ल थाहा पाइयो।'
लकडाउनको फाइदा उठाए पनि दीपकले खेल भने 'मिस' गरिरहेका छन्। यसले उनी दु:खी त छन्। तर संसारका ठूल्ठूला खेल पनि प्रभावित भएका अवस्थामा केही समाधान निस्कने उनले आशा गरेका छन्।
नेपाली तेक्वान्दोमा गति समातेकै बेला कोरोनाले 'ब्रेक' लगाइदिएको दीपकले बताए। नेपालले गत सागमा तेक्वान्दोबाट मात्र १२ स्वर्ण जितेको थियो। त्यसपछि एसियाली स्तर र ओलम्पिक छनोटमा राम्रो प्रदर्शन गर्ने लक्ष्य लिएको थियो।
'दक्षिण एसियाली स्तरमा उत्कृष्ट प्रदर्शनपछि अब रफ्तार कायम गर्नुपर्छ भनेर हामी प्रशिक्षकहरू लागि परेका थियौं,' दीपकले भने, 'त्यो रफ्तार अब रोकिएको छ।'
दीपक आफ्ना खेलाडीसँग भने सम्पर्कमै छन्। बिहान ९ देखि साढे १० सम्म भिडिओ कन्फरेन्सबाट प्रशिक्षण गराउँछन्। खेलाडीका समस्या सुन्छन्। खेलाडीहरूले कोठा-कोठामा अभ्यास गरिरहेका उनले बताए।
उनले आउटडोरमा खेलेजस्तो रमाइलो गर्न भने पाएका छैनन्। संसारकै समस्या आफूले पनि सामना गर्न परेको भन्दै चित्त बुझाएका छन्। कोरोनाले लामो समय असर गरेमा उनले भविष्यमा तेक्वान्दो सुरू गर्दा केही नियम परिवर्तन हुने अपेक्षा गरेका छन्।
'अरू खेलमा शारीरिक दुरी कायम गरेर अभ्यास गर्न सकिन्छ। हाम्रो त कन्ट्याक खेल हो। दुरी सम्भवै नहुने तेक्वान्दोमा केही न केही नयाँ नियम बनाउन सकिन्छ,' उनले भने, 'मेडिकल्ली फिट हुनुपर्ने वा १५ दिन अघि हेल्थ रिपोर्ट पठाउनुपर्ने जस्ता नियम बनाउने कुरा पनि छ।'
श्रीमान दीपकले अनलाइनबाट कक्षा सञ्चालन गरिरहँदा आयशा पनि सहभागी हुन्छिन्। उनीसँगै जेठा छोरा पनि अभ्यास गर्छन्। बिहान अभ्यास गरेपछि साँझ ४ बजे आमाछोरा फेरि अभ्यासमा जुट्छन्।
अभ्यासका लागि उनीहरूले बैठक कोठाको हल छानेका छन्, सोफा थन्काएर फराकिलो पारिएको छ।
'बैठक कोठालाई अभ्यास हल बनाएका छौं। छोरा र हामीलाई अभ्यास गर्न सजिलो भइरहेको छ,' दीपकले भने।
लकडाउनको सुरूआती चरणमा डर लागे पनि घरमै अभ्यास गर्न थालेदेखि दिन रमाइलो तरिकाले बित्न थालेको उनको भनाइ छ।
भन्छन्,'हाम्रो होम क्वारेन्टाइन, क्वालिटी क्वारेन्टाइन बनेको छ।'