नेपाल बक्सिङ संघको विवाद चर्किंदै गएको छ। पछिल्लो समय अध्यक्ष राम अवाले र महासचिव सविन भट्टाचार्यले एकअर्कालाई आरोप–प्रत्यारोप लगाइरहेका छन्।
महासचिव भट्टाचार्यले यसअघि संघको कार्यसमिति बैठकमा आफूमाथि हातपात भएको गम्भीर आरोप लगाएका थिए।
संघमा आर्थिक अनियमितता भएको, अध्यक्षले बक्सिङ खेलको विकासमा ध्यान नदिएको र एकलौटी रुपमा संघ संचालन गरेको महासचिवको थप आरोप थियो।
तर अध्यक्ष अवालेले आरोप खण्डन गरेका छन्।
'कोरोनाका कारण भौतिक दूरी कायम गरी भएको हातपात गर्ने गतिबिधि हुने सम्भावना नै थिएन,' अध्यक्ष अवालेको भनाइ छ।
गत साउन १५ र १६ गते बसेको बैठकमा आर्थिक प्रतिवेदनमा छलफल हुँदा महासचिवले विमति राखेका थिए।
'महासचिव आफैले गठन गरेको समितिले पेस गरेको प्रतिवेदनमा चित्त नबुझेमा छलफलमा ल्याउनु पर्ने र लेखा परीक्षकसँग सुझबुझ गर्न अधिकांश सदस्यहरुले आग्रह गर्दा पनि महासचिवले विकल्प नदिइ बैठक टार्न मात्र खोज्नु भयो,' अध्यक्ष अवालेको भनाइ छ।
अहिले खेलकुद विकास ऐन–२०७७ लागू भए पछि संघले सबै आर्थिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको २ महिना भित्र राष्ट्रिय खेलकुद परिषदमा बुझाउनुपर्ने अन्यथा संघमाथि कारबाही गर्न सक्ने प्रावधान भएकाले संघलाइ परेको बाध्यात्मक परिस्थितिको कारण सम्भव भएसम्म छिटो बुझाउनुपर्ने सबै सदस्यहरुले मत राखेको उनको भनाइ छ।
प्राविधिक समितिका संयोजक दिपक महर्जनले महासचिवलाई “तपाई जहिले पनि समस्या मात्र ल्याउनु हुन्छ, समाधान र सहयोग गर्नु हुन्न, संघको राम्रो काममा जहिले पनि भाजो हाल्नुहुन्छ, तपाईले हस्ताक्षर नगरे पनि संघको काम रोकिने छैन, तपाईको असहमति छ भने हस्ताक्षर नगरि पनि जान सक्नुहुन्छ” भनेपछि महासचिव हलबाट निस्किएका थिए।
अध्यक्षले विधान विपरित सुटुक्क जिल्ला संघ गठन गर्ने कार्य महासचिवको नेतृत्वमा भएको पनि आरोप लगाएका छन्।