विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक आगामी साउन ८ गतेबाट सुरू हुँदैछ।
ओलम्पिक सुरू हुन तीन साता समय बाँकी हुँदा हिजो (बिहीबार) बिहानसम्म नेपालका पाँच खेलाडीले खेल्ने पक्का थियो।
जसमा पौडीबाट गौरिका सिंह र एलेक्स गाडेगार्ड शाह, एथलेटिक्सबाट गोपीचन्द्र पार्की, सुटिङबाट कल्पना परियार र जुडोबाट सोनिया भट्ट थिए।
तर बिहीबार साँझ गोपीचन्द्रको नाम ओलम्पिक खेल्ने खेलाडीको सूचीमा थिएन।
नेपाली खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्, अन्तर्राष्ट्रिय निकायसँग समन्वय गर्ने नेपाल ओलम्पिक कमिटी र एथलेटिक्स खेलको मूल संस्था नेपाल एथलेटिक्स संघका प्रमुखले संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै गोपीचन्द्रको सट्टामा सरस्वती चौधरीले खेल्ने जानकारी गराएका थिए।
गोपीचन्द्रले भाग लिन लागेको म्याराथनको कोटा नेपाललाई प्राप्त हुन नसकेपछि महिला सय मिटर दौडको कोटा प्राप्त भएको र सो कोटामा सरस्वतीलाई पठाउन लागिएको तीन संस्थाका प्रमुखको दाबी थियो।
गोपीले गत मंसिरमा भएको राष्ट्रिय छनोट पार गरेपछि उनको नाम ओलम्पिकका लागि सिफारिस भएको थियो। त्यसयता उनी ओलम्पिकको तयारी गर्दै आएका थिए।
तर कतिपयले अन्तिम समयमा खेलाडीको नाम काटिनु दु:खद् भएको बताउँदै आलोचना गरेका छन्। लामो समयदेखि ओलम्पिकको तयारी गरिरहेका गोपीको ओलम्पिक खेल्ने सपना अन्त्य हुनु दु:खद् भएको उनीहरूको भनाइ छ।
नेपालका कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले गोपीले ओलम्पिक खेल्न नपाउने खबरले आफू स्तब्ध भएको सामाजिक सञ्जालमा लेखेका छन्।
'ओलम्पिक खेल्ने सपना हरेक खेलाडीको हुन्छ। तर, ओलम्पिक खेल्ने सबैको सपना पूरा हुन सक्दैन। आन्तरिक प्रतिस्पर्धाबाट टोकियो ओलम्पिकका लागि छनोट भएर पनि अहिले अन्तिम समयमा आएर गोपीचन्द्र पार्कीले खेल्न नपाउने खबरले स्तब्ध भएको छु,' सन् २००८ को बेइजिङ ओलम्पिक खेलेका दीपकले लेखेका छन्।
'निरन्तर प्रशिक्षणपछि अन्तिम समयमा खेल्न नपाउने खबरले गोपीले भोगेको पीडाको एउटा खेलाडीको नाताले महसुस गर्न सक्छु। जसका कारण उनको सहभागिता हुन सकेन त्यो नेपाली खेलकुदका लागि दुःखद पक्ष हो। भविष्यमा यस्ता घटना नदोहोरियोस्। गोपी भाइलाई मनोबल कमजोर नगर्न र अर्को मिसनका लागि तयार रहन पनि आग्रह गर्न चाहन्छु। गोपी भाइको मेहनत र परिश्रमको उच्च सम्मान होस्।'
१३ औं सागमा करातेबाट दुई स्वर्ण जितेका मन्देकाजी श्रेष्ठले पनि गोपीले ओलम्पिक खेल्न नपाउने घटनाले आफूले सन् २०१० को साग खेल खेल्न नपाएको घटनाको याद आएको बताएका छन्।
'मलाई जुन घटना ११ औं सागमा अर्थात् २०१० मा रुँदै घर फर्केको दिन आज गोपी भाइलाई भयो, यो कहिले अन्त्य हुन्छ हजुर,' उनले फेसबुकमा लेखेका छन्।
टेबलटेनिसका पूर्वप्रमुख प्रशिक्षक बिजेन्द्र हमालले गोपीचन्द्रले खेल्न नपाउने घटनालाई महाकुम्भ खेल खेल्ने एउटा सपनाको अन्त्य भनेका छन्।
'ओलम्पिक खेल अन्तर्गत एथलेटिक्स खेलको म्याराथन इभेन्ट्समा नेपाल एथलेटिक्स संघले नेपालगञ्जमा गत मंसिर ६ गते आयोजना गरेको म्याराथन विजेता पुरूष खेलाडीलाई ओलम्पिकमा सहभागी गराउने पूर्वघोषित योजना अनुसार गोपीचन्द्र पार्की उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गरी ओलम्पिक खेलमा सहभागिताको तयारीमा थिए,' हमालले लेखेका छन्।
'एथलेटिक्स संघबाट नाम दर्ता प्रक्रियाको लागि ओलम्पिक कमिटीमा खेलाडी गोपीचन्द्रको नाम पठाएकोमा कमिटीको लापरबाही र समन्वयको अभावले खेलाडी गोपीचन्द्र ओलम्पिक खेल खेल्नबाट बञ्चित भएका छन्। १३ औं सागमा पाँच हजार मिटर दौडको स्वर्ण पदक विजेता गोपीको टोकियो ओलम्पिक खेल्ने सपनाको अन्त्य भएको छ। यसको जिम्मेवारको नेपाल सरकारले छानबिन गरी सत्य जनतासामु ल्याउनु पर्दछ।'
१३ औं सागमा दश हजार मिटर दौडमा ऐतिहासिक स्वर्ण जितेकी सन्तोषी श्रेष्ठले पनि गोपीले खेल्न नपाउने घटनालाई 'निशब्द' भनेकी छिन्।
यस्तै, लामो समयदेखि खेलकुद बिटमा कलम चलाउँदै आएका पत्रकार निरन्जन राजवंशीले पनि खेलाडीको भावनामा असर गरेको भन्दै प्रश्न गरेका छन्।
'अत्यन्त दुःखद। एकजना खेलाडीलाई छनोट प्रतियोगिता गराएर, निरन्तर प्रशिक्षणमा राखेर अन्तिम समयमा छैन, होइनभन्दा कस्तो हुन्छ? पहिले नै बुझ्नुपर्ने होइन? एथलेटिक्स संघ? ओलम्पिक कमिटी?,' उनले फेसबुकमा लेखेका छन्।
गोपीले सागमा भारतीय खेलाडीलाई एक सेकेन्डले पछि पार्दै जितेका थिए स्वर्ण
गोपीले १३ औं सागको ५ हजार मिटर दौडमा भारतीय खेलाडी सुनील धावरलाई १ सेकेन्डले पछि पार्दै गोपीचन्द्र पार्कीले नेपाललाई स्वर्ण दिलाएका थिए।
पार्कीले निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गरेका थिए। रजतमा सीमित बनेका भारतका सुनील धावरले १४ मिनेट ५५.२१ मा पूरा गरे।
कास्य पनि नेपालकै हरिकुमार रिमालले जितेका थिए। उनी भारतीय खेलाडीभन्दा झण्डै दुई सेकेन्डले पछि परे।
गोपीचन्द्रको स्वर्णसँगै नेपालले ५ हजार मिटर दौडमा पहिलो स्वर्ण भित्र्याएको थियो।
यसअघि बंगलादेशमा भएको १० औं सागमा नेपालका लागि राजेन्द्र भण्डरीले ५ हजार मिटर दौडमा स्वर्ण दिलाएका थिए। तर पछि डोपिङमा असफल भएपछि उनको पदक खोसिएको थियो।
‘यो स्वर्णको लगि १४ वर्षको मेहनत छ। १० औं सागमा नेपालले गुमाएको स्वर्ण जसरी पनि फिर्ता गर्नुथियो। त्यही भएर जसरी पनि जित्छु भन्ने थियो,’ जितको खुसीयाली साट्दै गोपीचन्द्रले भनेका थिए।
१४ वर्षअघि राजेन्द्रले स्वर्ण जित्दा उनी ६ कक्षामा पढ्थे। त्योबेला बंगलादेशमा १० औं साग चल्दै थियो। त्यहीँबेला शिक्षकले नेपालका राजेन्द्र भण्डारीले डोपिङका कारण सागमा स्वर्ण गुमाएको समाचार कक्षामा सुनाए।
उनले विगत सम्झिँदै भनेका थिए, ‘त्यही बेला अब यो मेडल म ल्याउँछु भन्ने लाग्यो।’
त्यतिञ्जेल उनलाई दौड भन्ने थाहा नै थिएन। कुद्ने, उफ्रिने त गर्थे तर दौडमा पनि प्रतियोगिता हुन्छ भन्ने उनलाई थाहा थिएन।
२०६३ सालमा उनी पढेकै धनगढीको विद्यालयमा स्कुलस्तरीय दौड प्रतियोगिता भयो। गोपीले पनि भाग लिए। पहिलोचोटिमै उनले सबैलाई उछिने।
जितेको पहिलोपटकमै गोपी काठमाडौं आउन छनोटमा परे। उनी राष्ट्रियस्तर खेल्न धनगढीबाट काठमाडौं आए।
राष्ट्रियस्तरमा आउँदा आर्मी, सशस्त्र र प्रहरीले जिते। उनी अन्तिम भए।
त्यसपछि उनलाई राम्रो खेल्न विभागमा छिर्नुपर्ने रैछ भन्ने अनुभूति भयो। नभन्दै २०६६ सालमा उनी सशस्त्र प्रहरी बलमा भर्ना भए। तीनवटा तालिम सकेर उनी विभागमा पनि दौडतिर लागे।
भारतमा भएको १२ औं सागमा उनी १० हजार मिटर दौडमा सहभागी थिए। तर राम्रो प्रदर्शन गर्न सकेनन्।
तर १३ औं सागमा उनले उत्कृष्ट खेल पस्के। भारतका खेलाडीलाई एक सेकेन्डले पछि पारेर स्वर्ण जितेपछि गोपीले भनेका थिए, ‘दौड भनेको मिलिसेकेन्डले फरक पार्छ। एक सेकेन्ड त धेरै हो।’
उनले त्यतिबेलै आफ्नो लक्ष्य कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको इच्छा पूरा गर्नु रहेको उनले बताएका थिए।
‘उहाँले सागमा आफूले म्याराथनमा बनाएको २ घन्टा १५ मिनेट ०३ सेकेन्डको रेकर्ड नेपाली खेलाडीले नै ब्रेक गरोस् भन्ने छ, त्यो म पूरा गर्न चाहन्छु,' उनको भनाइ थियो।
सागपछि पुन: म्याराथनमा फर्किएका गोपीले गत मंसिरमा भएको राष्ट्रिय छनोट पार गर्दै ओलम्पिक सिफारिसमा परेका थिए। त्यसयता उनी कडा मेहनत गर्दै आएका थिए।
गोपीले ओलम्पिक खेल्न नपाउने विषयमा खेलकुद परिषद्, ओलम्पिक कमिटी र एथलेटिक्स संघले निकालेको संयुक्त विज्ञप्ती