विश्व खेलकुदको कुम्भ मेला टोकियो ओलम्पिक गेम्स २०२० शुक्रबारदेखि सुरू हुँदैछ।
कोरोना महामारीका बीच हुन लागेको यसपटकको ओलम्पिकमा नेपालको २६ सदस्यीय टिमले सहभागिता जनाउँदैछ। जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन्।
बाँकी १७ जना अफिसियलको रूपमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीको भनाइ छ।
१७ जनामध्ये कतिपय अफिसियल भने असम्बन्धित खेलका भएको बुझिएको छ।
जुडोको व्यवस्थापकको रूपमा गएका दुबै व्यवस्थापक जुडो खेलसँग सम्बन्धित छैनन्।
जुडोको व्यवस्थापकको रूपमा नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा टोकियो पुगेकी छिन्। उनी नेपाल ओलम्पिक कमिटीको सचिवसमेत हुन्। एमाले उपाध्यक्ष वामदेव गौतमकी पत्नी थापा राजनीतिक दबाबमा कबड्डी संघको अध्यक्ष बनेकी थिइन्।
जुडो व्यवस्थापक रूपमा नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा पनि टोकियोमा छन्। उनी ओलम्पिक कमिटीका कार्यसमिति सदस्य हुन्।
असम्बन्धित व्यक्ति टोकियो पुगेपछि अहिले जुडो संघका असन्तुष्टि बढेको छ।
'हामीले अध्यक्षलाई जुडोको प्रशिक्षक र व्यवस्थापकको रूपमा टोकियो जाने व्यक्तिका बारेमा सोधेका थियौं,' जुडो संघका एक केन्द्रीय सदस्यले भने,'छलफल गरेर प्रशिक्षकको टुंगो लगाइएको थियो। व्यवस्थापकको हकमा संघलाई कोटा नआएको अध्यक्षले जानकारी दिनुभएको थियो। तर अहिले अर्कै संघका पदाधिकारी जुडोको व्यवस्थापक बनेर टोकियो पुगेको सुन्दा अचम्म लाग्यो।'
प्रतियोगितामा व्यवस्थापकको भूमिका खेलाडीलाई सहज वातावरण बनाइदिने हुन्छ। ठूला प्रतियोगितामा व्यवस्थापक बन्दा सम्बन्धित खेलका पदाधिकारीलाई आगामी प्रतियोगितामा फाइदा पुग्ने विश्वास गरिन्छ।
जुडोको मात्र होइन एथलेटिक्सको हालत पनि उस्तै छ। ओलम्पिक कमिटीले एथलेटिक्स व्यवस्थापकको रूपमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र नेपाल ओलम्पिक कमिटीका सहमहाचिव पिताम्बर तिम्सिनाको नाम सिफारिस गरेको छ।
तर परिषद्का उपाध्यक्ष कोइरालाले टोकियो नजाने घोषणा गरिरहेका छन्। हाल अमेरिकामा रहेका तिम्सिना भने उतैबाट टोकियो पुग्ने बताइएको छ।
एथलेटिक्सको प्रशिक्षकको रूपमा सन्तोष श्रेष्ठ गएका छन्। ओलम्पिक कमिटीले श्रेष्ठको नाम अन्तिममा सिफारिस गरेको थियो।
यसअघि प्रशिक्षकको रूपमा इन्द्राकुमारी मल्ललाई पठाउने भनिएको थियो। कोरोना पोजेटिभ देखिएको भन्दै उनको नाम एक्कासी हटाएर सन्तोषको नाम सिफारिस गरिएको थियो।
'हामीले सिफारिस गरेको व्यक्तिलाई जापान पठाउने नियत ओलम्पिक कमिटीको देखिएन। अघिल्लो दिन कोरोना पोजेटिभ देखिएकी मल्लको भोलिपल्ट कोरोना नेगेटिभ देखिएको थियो। तर एक्कासी अर्कै व्यक्तिको नाम सिफारिस हुँदा दु:ख लागेको छ,' एथलेटिक्स संघका एक पदाधिकारीले भने।
त्यसअघि एथ्लेटिक्स संघले प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङको नाम सिफारिस गरे पनि उनको नाम राख्न ओलम्पिक कमिटीले आनाकानी गरेको थियो।
गोपीचन्द्र पार्की ओलम्पिक म्याराथनका लागि छनोट भएपछि संघले प्रशिक्षकको रूपमा गुरुङको नाम पठाएको थियो।
पछि ओलम्पिक कमिटीले पार्कीका लागि ओलम्पिक कोटा सकिएकोले महिला सय मिटर दौडका लागि नाम पठाउन भनेको थियो। जसका कारण ओलम्पिक खेल्ने पार्कीको सपना चकनाचुर भएको थियो।
जुडो र एथलेटिक्स जस्तै सुटिङ खेलको व्यवस्थापकको रूपमा असम्बन्धित व्यक्ति जापान गएका छन्। नेपाल फेन्सिङ संघका अध्यक्ष सुनीलकुमार श्रेष्ठले टोकियो ओलम्पिकमा सुटिङ व्यवस्थापकको रुपमा भाग लिँदैछन्। उनी ओलम्पिक कमिटीका उपाध्यक्ष पनि हुन्।
नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ असम्बन्धित व्यक्ति व्यवस्थापक बन्दा खेलाडीको प्रदर्शनमा नकारात्मक असर पर्ने बताउँछन्।
'खेलाडी र प्रशिक्षकको सहजताका लागि व्यवस्थापक चयन गरिन्छ। तर यसपटकको ओलम्पिकमा त खेलाडी र प्रशिक्षकले नै व्यवस्थापकलाई सिकाउनु पर्ने देखिन्छ,' श्रेष्ठले भने।
संघको अध्यक्ष भइसकेका व्यक्ति व्यवस्थापक बनेर जानु उचित नहुने उनको तर्क छ।
'संघको अध्यक्ष भइसकेका व्यक्ति व्यवस्थापक बन्ने कुरा राम्रो होइन। यसले आफ्नै पदको गरिमा घटाउँछ,' उनले भने।
यता पौडीको व्यवस्थापक बनेर नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले टोकियो पुगेका छन्। अवाले ओलम्पिक कमिटीका कार्यसमिति सदस्य समेत हुन्।
पौडीको व्यवस्थापक बनेर बक्सिङ संघका अध्यक्ष कसरी टोकियो पुगे भन्ने प्रश्नमा पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य सबै कुरालाई नकारात्मक रूपमा लिन नहुने बताउँछन्।
'ओलम्पिक कमिटीका अध्यक्ष र महासचिवले यसअघि ओलम्पकमा भाग नलिएका पदाधिकारीलाई मौका दिन आग्रह गर्नु भएको थियो। त्यसैले उहाँहरू जानु भएको होला। यसलाई मैले नकारात्मक रूपमा लिएको छैन,' उनले भने।
टोकियो ओलम्पिक २०२० मा नेपालको तर्फबाट सहभागी हुनेहरूको नामावली:
खेलाडी र प्रशिक्षक
१. कल्पना परियार - खेलाडी - सुटिङ
२. असिम यादव - प्रशिक्षक - सुटिङ
३. सोनिया भट्ट - खेलाडी - जुडो
४. सूर्यनारायण श्रेष्ठ - प्रशिक्षक - जुडो
५. सरस्वती चौधरी - खेलाडी - एथ्लेटिक्स
६. सन्तोष श्रेष्ठ - प्रशिक्षक - एथ्लेटिक्स
७. गौरिका सिंह - खेलाडी - पौडी
८. एलेक्जान्डर ग्याडिगाड शाह - खेलाडी - पौडी
९. शंकर कार्की - प्रशिक्षक - पौडी
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको निमन्त्रणामा
१. जीवनराम श्रेष्ठ - अध्यक्ष
२ निलेन्द्रराज श्रेष्ठ - महासचिव
नेपाल ओलम्पिक कमिटीबाट
१. चतुरानन्द राजवैद्य - उपाध्यक्ष तथा कार्यकारी निर्देशक
२. तेजबहादुर गुरुङ - उपाध्यक्ष (सहभागी नहुने घोषणा)
३. सुनिलकुमार श्रेष्ठ - उपाध्यक्ष
४. पिताम्बर तिम्सिना - सहमहासचिव
५. तुलसी थापा - सचिव
६. प्रकाशसम्शेर राणा - सदस्य
७. राम अवाले -सदस्य
युवा तथा खेलकुद मन्त्रालयबाट
१. केदार न्यौपाने - सचिव
राष्ट्रिय खेलकुद परिषदबाट
१. शिव कोइराला - उपाध्यक्ष (सहभागी नहुने घोषणा)
२. रमेशकुमार सिलवाल - सदस्यसचिव
३. सुभाष श्रेष्ठ - सदस्य
४. सम्पन्न श्रेष्ठ - सदस्य
मेडिकल
१ डा. नबिशमान सिंह प्रधान - मेडिकल
टोकियो नेपाली दूतावास
१. प्रेम बराल - कर्मचारी
टोकियोस्थित नेपाली स्वयंसेवक
१. रुपेश डंगोल - स्वयंसेवक