देशको इज्जत र प्रतिष्ठासँग जोडिने विश्व खेलकुदको 'कुम्भमेला' ओलम्पिकमा नेपालले १८औं संस्करणदेखि आफ्नो उपस्थिति जनायो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा 'चन्द्रसूर्य' फहराएको थियो।
सन् १९६८ को मेक्सिको ओलम्पिकमा आर्थिक अभावका कारण नेपाल सहभागी भएन। सन् १९७२ को म्युनिख ओलम्पिक नेपालका लागि महत्वपूर्ण थियो।
तत्कालीन पश्चिम जर्मनीमा भएको ओलम्पिकमा धावकद्वय जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले म्याराथनमा प्रतिस्पर्धा गरेका थिए। जहाँ भक्तबहादुर सापकोटा ओलम्पिकमा म्याराथन पूरा गर्ने पहिलो नेपाली धावक बने।
ओलम्पिक हुन भएको नवौं दिन भएको थियो। ओलम्पिक 'भिलेज'मा हंगामा मच्चियो।
नेपाली खेलाडी बसेको कोठा अगाडि इजरायली खेलाडी बसेका थिए। त्यही घर कब्जा गर्ने उद्देश्यले प्यालेस्टाइन समर्थक आतंकवादी समूहले तार काटेर भित्र छिरे। उनीहरूले इजरायलका प्रशिक्षक र खेलाडीलाई बन्धक बनाए। इजरायलको जेलमा रहेका आफ्ना २३४ जना कैदीबन्दी रिहा गर्नुपर्ने माग राखे।
बिहान सबेरै घटना भएको थियो। त्यसपछि प्रशिक्षकहरू आएर 'सुरक्षित रहनू, दायाँबायाँ नजानू' भन्दै निर्देशन दिए।
सापकोटाले त्यो त्रासदीपूर्ण घटना अझै बिर्सन सकेका छैनन्।
'हामीलाई पनि केही हुन्छ कि भन्ने डर थियो। मुखमा पट्टी लाएका उनीहरू यताउति गरिरहन्थे। उनीहरूका नेताले आयोजकसँग वार्ता गरिरहेको छ भनेर हामीलाई जानकारी गराउँदै नडराउन भनिन्थ्यो,' उनले सुनाए।
दुई दिनसम्म वार्ता चलेपछि बन्दी खेलाडी र प्रशिक्षकलाई ओलम्पिक भिलेजबाहिर लान दिने सहमति भयो। तर जर्मन प्रहरीले आतंकवादीलाई आक्रमण गरेर बन्दीहरू छुटाउने प्रयास गरे। सफल भने भएनन्।
एक विमानबाट अर्को विमानमा बन्दी सार्ने क्रममा प्रहरीले आक्रमण गरेको थियो। आक्रमणपछि बन्दी ६ जना प्रशिक्षक र ५ जना खेलाडीको हत्या भयो। जर्मन प्रहरीले ५ जना आतंकवादीलाई घटनास्थालमै मारेको थियो। ३ जना समातिए।
चार दिनसम्म रोकिएर सुरू भएको ओलम्पिकको अन्तिममा म्याराथन प्रतिस्पर्धा भयो। दौडिनुअघि घटना साम्य भए पनि डर नहटेको सापकोटा बताउँछन्। त्रासबीच दौड पूरा गरेर उनले नेपाली खेलकुदमा आफ्नो नाम स्वर्ण अक्षरले लेखाउन सफल भए।
जीतबहादुरको सम्झना
प्रशिक्षण र बैंकक एसियाली खेलकुदको अनुभवले जीतबहादुरको दौड निखारिँदै थियो। अभ्यासमा उनले आफ्नो क्षमता देखाएर सबैलाई प्रभावित पारेका थिए। त्यो क्षमता मैदानमा उतार्न नपाउँदै म्यूनिख ओलम्पिकमा दुःखद घटना भयो।
निद्रा नलागेपछि उनी ओछ्यानमा ढल्किरहेका थिए। नेपाल खेलाडी बसेको 'भिलेज' अन्डरग्राउन्ड थियो। उनी कोठा नम्बर ५ मा थिए।
एक्कासि 'ड्याङ्ग' आवाज आयो। आवाजसँगै आएको कम्पनले उनी बसेको कोठा 'जुरुक्कै उचालेको' थियो। तर, उनले खेलकै क्रममा आवाज आएको ठानेर पर्दा खोलेर हेरेनन्।
'लगत्तै अर्को पटक पनि पड्कियो। फेरि कोठा जुरुक्क उचाल्यो। हत्तेरी कति पड्काएका हुन् भन्ने लाग्यो तर, ढोका खोलेर हेरिनँ। त्यत्तिकैमा निदाएछु,' उनी भन्छन्।
बिहान ४ बजे कान फुट्लाझैं ओलम्पिक भिलेजमा घन्टी बज्यो। कोठाअघि 'नेपाली टोपी' मागिरहने एक जना गार्ड बस्थे। उनैले चिया लिएर आएको होला भन्ने लाग्यो उनलाई।
'भर्खर निदाएको मान्छेको निद्रा बिगारिदिने कस्तो कुइरे रहेछ,' गार्डलाई मनमनै गाली गर्दै तौलिया बेरेर ढोका खोले। तर, अघिल्तिर शारदा राज्य लक्ष्मी शाहलाई देखेपछि उनी लाजले रातोपिरो भए। राजा महेन्द्रकी माइली छोरी शारदा खेलकुद परिषदका तत्कालीन सदस्यसचिव खड्ग विक्रम शाहकी श्रीमती हुन्।
ढोका खेलेपछि शारदाले उनलाई रातिको घटनाबारे सोधिन्।
'आवाज सुनेको हो, तर घटनाबारे केही थाहा पाइनँ सरकार,' उत्तर फर्काए।
ढोका खोलेर हेर्दा रगतैरगत थियो। त्यसपछि उनको मुटु ढक्क फुल्यो।
पछि थाहा भयो, प्यालेस्टाइनी विद्रोहीले इजरायली खेलाडीलाई आक्रमण गर्न भित्र छिरेका रहेछन्।
'आक्रमणकारी भिलेजभित्रै थिए। एक जनाले ह्यान्ड ग्रिनेट बोकेको थियो, अर्कोले बन्दुक। त्यो देखेपछि ओलम्पिक भिलेजभर आतंक फैलिएको थियो,' त्रासदीपूर्ण घटनाका प्रत्यक्षदर्शी जीतबहादुरले सुनाए।
यसपछि जीतबहादुर निकै डराए।
'घडीको टिकटिक आवाज मात्र होइन, झिँगा उडेको आवाजले पनि डर लाग्थ्यो,' उनी भन्छन्।
ओलम्पिकअघि चर्चित बनेका उनीमाथि पदकको दबाब थियो। यता मन बिचलित भयो। १० सेप्टेम्बर १९७२ मा उनी आफ्ना साथी भक्तबहादुर र ३९ देशका ७४ धावकसँगै म्याराथन दौडिए।
दुर्भाग्य, पदकको आशा गरिएका उनी २१ किलोमिटर दौड पूरा गरेपछि घाइते भए। २१ किलोमिटरका बाँकी छँदा उनको तिघ्राको मांसपेशी पोका पर्न थाले। केही बेर सहेर कुदिनैरहे। नसकेपछि बीचमै दौड त्यागे।