दोलखाको चरिकोटमा पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ।
प्रदेश खेलकुद बिकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता कात्तिक १३ गते आयोजना हुने भएको हो ।
आईतबार दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लाको प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध तथा रमणीय स्थल चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराईएको छ ।
प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले विश्वमा कतैपनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा प्रदेश सरकारले दोलखामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए।
उनले दोलखामा हुने ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङको आयोजनाबाट यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा व्यक्त गरे।
राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना गरेर अर्को वर्ष अन्तराष्ट्रिय स्तरको ‘हाइ अल्टिच्युड’ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारको रहेको सदस्य सचिव भण्डारीले बताए।
कार्यक्रममा नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले कोभिडको महामारीले थलिएको पर्यटन प्रबद्र्धनलाई यस प्रतियोगिताले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्। उनले प्रतियोगिताको सफलता र स्थानीयको सहयोगले रिङ रेस्लिङलाई आगामी वर्ष थप परिस्कृत गर्दै अन्तराष्ट्रियकरण गर्न सहयोग पुग्ने धारणा राखिन्।
नेपाल ओलम्पिक कमिटीका सदस्य रमेश सिवाकोटीले दोलखाको पर्यटन र खेलकुद विकासमा ओलम्पिक कमिटीको समेत सहयोग रहने प्रतिबद्धता जनाए।
राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताईएको छ।
प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रहने आयोजकले जानकारी दिएको छ ।प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।