संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा जारी टी-२० विश्वकप क्रिकेटअन्तर्गत अहिले पाकिस्तान र न्यूजिल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ। यसबीच पाकिस्तानका पूर्वखेलाडी शोएब अख्तरले न्यूजिल्यान्ड टिममाथि व्यंग्य कस्दै गरेको ट्वीटले सामाजिक सञ्जालमा चर्चा पाएको छ।
तीव्र गतिका यी बलरले पाकिस्तानी समर्थकहरूलाई शान्त भएर खेल हेरिदिन र खेल क्रममा धेरै उत्साहित नहुन आग्रह गरेका छन्।
आफ्नो टिमको प्रदर्शनबाट धेरै उत्साहित हुँदै पाकिस्तानी समर्थकहरूले हल्लाखल्ला गरे भने 'न्यूजिल्यान्डले रंगशालाभित्र धेरै हल्ला भएको कारण देखाउँदै खेल नै रद्द गराउन सक्ने' उनले भनेका छन्।
उनी ट्वीटरमा लेख्छन्- 'म पाकिस्तानी समर्थकहरूलाई शान्त भएर खेल हेरिदिन र धेरै उत्साहित नहुन अनुरोध गर्छु। न्यूजिल्यान्डले सुरक्षाका कारण खेल रद्द नगराए पनि रंगशालाभित्र धेरै हल्लाखल्ला भएको निहुँमा खेल रद्द गर्न माग राख्न सक्छन्।'
यो ट्वीट पाकिस्तानका चर्चित खेलाडी शोएब अख्तरले न्यूजिल्यान्ड टिममाथि व्यंग्य हो। यसअघि न्यूजिल्यान्डले पाकिस्तानमा हुने खेल सुरक्षाको कारण देखाउँदै रद्द गरेको थियो। यसले पाकिस्तानको क्रिकेटमा ठूलो धक्का लागेको थियो। शोएबले आफ्नो ट्वीटमा त्यसैको साटो फेरेका छन्।
यो ट्वीटलाई शोएबका प्रशंसाहरूले निकै स्वागत गरेका छन्। मंगलबार साँझ ५ बजेर ३८ मिनेटमा गरिएको ट्वीटले राति पौने १० बजेसम्म ३८ हजार ६ सय लाइक्स र ५७३० रिट्वीट पाएको छ। यही ट्वीटमा धेरैले टिम पाकिस्तानको तारिफ पनि गरेका छन्।
दुबईमा जारी टी-२० विश्वकपमा भारतसँग भएको खेलमा ऐतिहासिक जित हात पारेपछि अहिले पाकिस्तानी टिमको मनोबल बढेको छ।