प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ।
प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सबै विधामा गरी करिब १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको छ।
इलिटतर्फ शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । शीर्ष १० स्थानमा आउनेलाई पनि नगद पुरस्कार राखिएको छ । मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ७ हजार नगद पुरस्कार पाउने छन्।
रसुवा जिल्ला खेलकुद विकास समिति र नेपाल साइक्लिङ संघको समन्वयमा हुने प्रतियोगिताको दूरी ३५ किलोमिटर रहेको छ।
पत्रकार सम्मेलनमै दुई आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भयो। परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सदस्य–सचिव भण्डारीले प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउने बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख खर्च हुने बताइएको छ।
सदस्य–सचिव भण्डारीले खेलकुद मार्फत पर्यटनलाई पनि बढावा दिने उद्देश्यका साथ परिषद्ले हाइ अल्टिच्युट प्रतियोगितालाई महत्व दिएको बताउदै यसअघि दोलखामा रेस्लिङ सम्पन्न भइसकेको र कात्तिक २७ मा सिन्धुपाल्चोकको पाँच पोखरीमा हाइ अल्टिच्युट हाफ म्याराथन हुन लागेको जानकारी गराए ।
नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सरोकार निकायसंग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए।