कर्णाली प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाको रूपमा घोषणा गरेको प्रदेशस्तरीय रंगशाला निर्माणको काम सुरू भएको छ।
यो प्रदेश सरकारको पहिलो प्रदेश गौरवको आयोजना पनि हो। मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार आयोजनाको शिलान्यास गरेका छन्।
अन्य पूर्वाधारजस्तै खेलकुदका पूर्वाधारसमेत अभाव रहेको कर्णाली प्रदेशमा अब राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न सकिने क्षमताको पूर्वाधार बन्ने भएको छ। आगामी २०८१ सालमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने लक्ष्य अनुसार नै प्रदेशस्तरीय रंगशालाको निर्माण थालिएको हो।
रंगशाला सुर्खेतको वीरेन्द्रनगरमा बन्दैछ। अहिले रंगशालाकै रूपमा प्रयोग हुँदै आएको ठाउँमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्न लागिएको छ।
रंगशालाभित्र फिफा स्ट्याण्डर्डको फुटबल मैदान बन्नेछ। उक्त मैदानमा पानी छर्किने आधुनिक व्यवस्था रहनेछ। आईएएफ स्ट्याण्डर्डको सेन्थेटिक एथलेटिक्स ट्र्याक निर्माण गरिनेछ। उक्त ट्र्याक ८ लेनको हुनेछ।
१० हजार दर्शक अट्ने भूकम्प प्रतिरोधी प्यारापीट, दुई तलाको भिआईपी प्यारापीट रंगशालाभित्र निर्माण हुनेछन्।
खेलाडीको लागि चेन्जिङ रूम, शौचालय, सावर, मिक्स जोनसँगै मिडिया रुम, क्यान्टिन, रेफ्रि रुम, मेडिकल रुम, फिजियोथेरापी रुम, भिआईपी वेटिङ तथा रिफ्रेस रूम, टेलिभिजनका लागि लाईभ ब्रोडकास्ट प्लेटफर्म पनि निर्माण गर्नेगरी रंगशालाको डिजाईन गरिएको छ।
अन्डरग्राउण्ड पार्किङको व्यवस्थासहितको रंगशाला अपांगमैत्री हुनेछ।
१ अर्ब ५९ करोड ४७ लाख ४७ हजार लागतमा प्रदेशस्तरीय रंगशाला निर्माण गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ।
नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित ‘एमएसीजीएसएल जोईन्टभेन्चर’ कम्पनीसँग निर्माण सम्झौता भएको हो।
२०७८ कात्तिक २७ गते भएको सम्झौता अनुसार २०८१ वैशाख ११ गतेभित्र निर्माण सम्पन्न गरी कम्पनीले सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने छ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा गर्ने लक्ष्यका साथ पूर्वाधार निर्माण गर्न लागिएकोले रंगशाला निर्माणका क्रममा तोकिएको अवधिभन्दा बढी समय नथप्ने शर्तमा निर्माण कम्पनीसँग सहमति भएको कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव विश्वमित्र सञ्जेलले बताए।
‘कर्णालीमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने कुरा थियो, हामीसँग पूर्वाधार नभएकोले पाएनौं,’ उनले भने, ‘अबको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता जसरी पनि कर्णालीमा गर्ने योजना छ, त्यसैको उदघा्टन र समापनलाई लक्षित गरी कर्णाली प्रदेशस्तरीय रंगशाला निर्माण थालिएको हो।’
यसपटकको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ। गत आर्थिक वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद प्रतियागिता कोभिड महामारीका कारण यो वर्ष सरेको छ। यसपछि २०८१ मा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ।
‘नवौं राष्ट्रिय खेलकुद गर्न कर्णालीमा पूर्वाधार पनि छैन, दुई वर्षभित्र बनाउन पनि सकिँदैन भन्ने त्यसबेलाको राष्ट्रिय खेलकुद परिषदको बुझाईका कारण गण्डकी प्रदेशले लिएको हो,’ सदस्य सचिव सञ्जेलले भने, ‘यसको तीन वर्षभित्रमा १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता हाम्रो प्रदेशमा गर्ने हो, यसका लागि अहिले बन्दै गरेको प्रदेश गौरवको आयोजना अन्तर्गतको रंगशाला पूर्वाधारअन्तर्गतको बलियो आधार हो।’
कर्णाली प्रदेशमा प्रदेश गौरवको आयोजनामा राखेर प्रदेशस्तरीय रंगशाला बनाउने निर्णय कर्णाली प्रदेश खेलकुद परिषदको पहिलो वैठकले गरेको हो। २०७८ असार १६ गतेको मन्त्रिपरिषदको वैठकको निर्णयअनुसार असार ३१ गते बोलपत्र आह्वान गरिएको थियो।
खेलकुद परिषदको यो निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पनि पठाईएको सञ्जेलले बताए।
‘हामीले यो निर्णय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदलाई पनि पठाएका छौं, त्यताबाट पनि राम्रो सम्बोधन भएकाले हामीले दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गराउँछौं भन्नेमा ढुक्क छौं।’
कर्णाली प्रदेश खेलकुद परिषदले पठाएको निर्णयका आधारमा कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि खेलकुद मन्त्रालयबाट पनि केही रकम छुट्याईएको उनले बताए। तर दुई वर्षदेखि राष्ट्रिय खेलकुद परिषदको बोर्ड वैठक नबसेकाले परिषदबाट निर्णय हुन सकेको छैन।
दशौं राष्ट्रिय खेलकुद गर्न भनेरै कर्णाली प्रदेशस्तरीय रंगशाला निर्माणको सम्झौता फरक ढंगले गरिएको सञ्जेलले बताए।
‘हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई नै लक्षित गरी गरेको सम्झौता अनुसार २०८१ वैशाख ११ गतेभित्र यो रंगशाला निर्माण गरी निर्माण कम्पनीले सरकारलाई हस्तान्तरण गरिसक्नुपर्छ,’ उनले भने, ‘अरु आयोजना जस्तो म्याद थप्ने, बजेट थप गर्ने व्यवस्था सम्झौतामै छैन।’
रंगशालाभित्र २५ बर्गमिटरको स्वीमिङ पुल, भलिबल, ह्याण्डबल खेल्न मिल्ने १ हजार ५०० जना दर्शक क्षमताको बहुद्देश्यीय कभर्ड हल, भलिबल, ह्याण्डबल र बास्केट बल आउटडोर कोर्ट, व्यापारिक तथा सुरक्षा प्रयोजनका लागि ४० वटा सर्टर भएको कम्पाउण्ड वाल, सार्वजनिक शौचालय र पार्किङ स्थल पनि बन्नेछन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश गौरवको पहिलो आयोजना भएकाले तोकिएकै समयमा निर्माण गर्न निर्देशन दिएका छन्।
निर्माण कम्पनी र खेलकुद परिषदले समयको महत्व बुझेर निर्माणको काम गर्न उनले आग्रह गरे।
दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा सञ्चालन गर्ने महत्वपूर्ण योजना भएकाले पनि रंगशाला निर्माण अनिवार्य भएको उनले बताए।