कपाल काट्ने पेसा गर्ने व्यक्ति कराते खेलाडी!
खेलाडी मात्रै हो र, राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक विजेता!
यी हुन् कैलालीको गोदावरी नगरपालिकाका आनन्द विक। प्रशिक्षक सन्तोष विकको प्रेरणा र प्रशिक्षणबाट आनन्द कपाल काट्दाकाट्दै एकाएक राष्ट्रिय प्रतियोगिताका विजेता बने।
स्वर्ण पदकले आनन्दको जीवनमा खुसी ल्याएको भए पनि त्यहाँसम्म पुग्नमा उनले कम्ती संघर्ष गर्नुपरेको छैन।
राष्ट्रिय गोजरियो कराते डो संघको 'ओलानी डोजो' का प्रशिक्षक सन्तोष विक आफ्ना शिष्यले स्वर्ण पदक जितेर आउँदा कम्ता खुसी छैनन्। तेह्र वर्ष सिकेर ब्ल्याक बेल्ट पाएपछि सन्तोषले कराते खेल्न छोडेका थिए। आठ वर्षअघि उनले इच्छुकहरूलाई गाउँमा कराते प्रशिक्षण दिन सुरू गरेका हुन्।
सन्तोषको सपना थियो, देशका लागि मेडल जित्ने। एउटा प्रतियोगिता थियो ६ वर्षअघि। चोटका कारण सहभागी हुन सकेनन्। उनले आर्थिक समस्याका कारण अलिअलि भए पनि खर्च चल्छ कि भन्ने सोचेर करातेको प्रशिक्षण दिन थाले।
'पारिवारिक दुःख र खुट्टाको चोटका कारणले म प्रतियोगितामा सहभागी हुन सकिनँ। अहिले खेल्न छोडेर खेलाउँदै छु,' उनले भने, 'देश र हाम्रो ठाउँको लागि मैले सिकाएका खेलाडीहरूले खेल्न सकून् भनेर प्रशिक्षण दिन्छु।'
सन्तोष आफ्ना खेलाडीले मेडल (पदक) जित्ने गरी खेल्न सकून् भन्ने हिसाबले प्रशिक्षण गराउँछन्। मेडल जित्ने आफ्नो लक्ष्य शिष्यमार्फत पूरा गर्न उनी सफल भएका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सन्तोषले प्रशिक्षण दिएका खेलाडी आनन्द विकले करातेमा स्वर्ण पदक जिते। आनन्दले ५० किलो तौल समूहमा गोल्डमेडल जितेपछि सन्तोष मात्र नभई यति बेला ओलानीवासी नै हर्षित छन्।
पदक जितेपछि गाउँले, स्थानीय सरकारका जनप्रतिनिधि, खेलाडी र खेलकर्मीले बाजागाजासहित आनन्दको स्वागत गरेका थिए।
गरिब परिवारका आनन्दलाई खेलले प्रतिष्ठा दिलाएपछि नयाँ खेलाडी पनि उत्साहित भएका छन्। ओलानी डोजोमा प्रशिक्षण लिने खेलाडीहरू आनन्दले जस्तै आफ्नो ठाउँ चिनाउने र केही राम्रो गर्ने आँट आएको बताउँछन्।
स्वर्ण पदक जितेपछि आनन्दलाई राष्ट्रिय गोजुरियो कराते डो संघ, नेपालले २५ हजार रूपैयाँ नगद दिने निर्णय गरेको छ। कास्य पदक जित्ने अरू खेलाडीलाई जनही १० हजार र टिम इभेन्टमा संघका खेलाडीलाई जनही सात हजार रूपैयाँ पुरस्कार दिने संघका सभापति गणेश कार्कीले बताए।
गाउँमा अहिले पनि आनन्दको तारिफ भइरहेको छ। आनन्दलाई गाउँलेहरूले खेलमा अझै प्रगति गर्नुपर्छ भनेर प्रोत्साहित गरिरहेका छन्।
खेलले प्रतिष्ठा दिलाए पनि परिवारको आर्थिक अवस्था नाजुक भएकाले आनन्दलाई खेलमा टिकिरहन चुनौती छ। आनन्दले सानै उमेरमा कराते सुरू गरेका थिए। सन्तोषले गाउँमा कराते सिकाउँदा आनन्द १० वर्ष उमेरका थिए।
'१०–११ वर्षको हुँदादेखि कराते खेल्दै आएँ। हुर्किँदै गर्दा उमेर बितेको थाहै भएन। बिस्तारै जिम्मेवारी बढ्दै गयो। बीचमा खेल छोड्ने अवस्था आयो,' उनले भने।
आनन्द घरको कमजोर आर्थिक अवस्थाले भौंतारिँदै खेल छाडेर पटकपटक भारत पसे। प्रशिक्षक सन्तोषको सहयोगले फेरि खेलमा फर्केका आनन्द राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल भए।
आनन्द भन्छन्, 'गुरु (सन्तोष) ले गर्दा मैले मेडल जितेको हुँ। उहाँकै कारण मैले खेल जीवन बुझेँ। केही गर्न सक्ने आँट पलायो।'
एकचोटि आनन्द खेल छाडेर भारतमै बस्ने सोचले गएका थिए। सन्तोषले घर फर्किन र खेल नछोड्न आग्रह गर्दै बारम्बार फोन गरे। आनन्दसँग घर फर्किने पैसा भएन। सन्तोषकै मद्दतले धनगढी आए। उनलाई कुनै पनि हालतमा खेल नछाड्न पनि सन्तोषले आग्रह गरे। थोरैतिनो आम्दानीको बाटो देखाए।
'गुरुले मैले गर्ने प्रशिक्षकको काम तिमी पनि गर, त्यहाँबाट आएको पैसा लग भन्नुभयो,' उनले भने, 'यतिले पनि नपुगे घरखर्च चलाउन र खेल्न पैसाको बन्दोबस्त मिलाइदिन्छु भन्नुभयो।'
करातेमा आनन्दको राम्रो सम्भावना देखेर सन्तोषले क्षमताले भ्याएसम्म सहयोग गरे। आनन्दले पनि राम्रो गर्दै गए।
'तिमीले देशको लागि मेडल ल्याउँछौ, खेल नछोड भनेर गुरुले हौसला दिनुहुन्छ,' आनन्दले भने।
गुरुको हौसलाले कराते खेलाडी बनेका २१ वर्षीय आनन्द जीवन धान्न अहिले कपाल काट्ने पेसा गर्छन्। कैलालीको गोदावरी नगरपालिका–११, ओलानीमा उनको घर छ। ओलानीमै सानो सैलुन राखेका छन्।
आनन्द दुई वर्ष उमेरका छँदा भारतमा चौकीदारी काम गर्ने उनका बुबाको निधन भयो। आमा अहिले पनि भारतमै काम गर्छिन्।
'आमा भारतमै काम गर्नुहुन्छ,' उनले भने, 'हाम्रो अवस्था देखेर उहाँलाई फर्केर यतै बस्न मन लाग्दैन।'
उनका अनुसार आमा कहिलेकाहीँ मात्र घर आउँछिन्। उनी भारतमा घरेलु काम गर्छिन्। त्यस बापत पाएको पैसा घर पठाउँछिन्। स्वर्ण पदक जितेको खुसी आनन्दले आमासँग बाँड्न पाएका छैनन्।
कमजोर आर्थिक अवस्थाकै कारण आनन्दले कक्षा १२ पछि पढाइ अघि बढाएनन्। सैलुनले पनि सबै खर्च धान्ने गरी आम्दानी दिन सकेको छैन।
'अझै धेरै जिम्मेवारी आमाले लिनुभएको छ। आमालाई घरै बस्नुस् भन्न सकेको छैन,' उनी भन्छन्, 'बहिनीलाई पढाउन आमाले कमाउनु परेको छ।'
आनन्दले सहकारीबाट केही ऋण निकालेर सैलुनमा सामान जोडेका छन्। अहिले उनको सैलुन पहिलेको भन्दा व्यवस्थित छ। गाउँ भएकाले कपाल काट्ने आउने चाहिँ थोरै हुन्छन्।
उनी बिहान साढे ५ देखि ८ बजेसम्म कराते खेल्छन्, तालिम लिन्छन्, तालिम दिन्छन्। यसपछि बेलुका ५ बजेसम्म सैलुन चलाउँछन्। घरव्यवहार भने उनकी श्रीमतीले सम्हालेकी छन्।