नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा अकी र आरभको जोडीले फाइनलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहुको जोडीलाई ३–६, ७–५ र १०–८ को सेटमा पराजित गरे।
गल्र्स डबल्समा मंगोलियाका दिदी मार्ता चोक्सोम्जाभ र बहिनी मरालगु चोक्सोम्जाभको जोडी च्याम्पियन बने। दिदीबहिनीको जोडीले फाइनलमा भारतका अनुष्का भोला र मेहक कपुरको जोडीलाई ६–० र ६–० को सोझो सेटमा सहजै हराए।
डबल्सका विजेतालाई आयोजक नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणा, टेनिस संघका सदस्य एवं प्रतियोगिता निर्देशक अजय विष्ट र टेनिस संघका सदस्य जयजिब हाडाले एक कार्यक्रमबीच पुरस्कृत गरे।
डबल्समा स्वर्ण जितेका दिदीबहिनीको जोडी सिंगल्समा भने एक अर्काका प्रतिद्वन्द्वी बनेका छन्। सेमिफाइनलमा मरालगुले हङकङकी जेन लिङ छुन वोङलाई ६–२ र ६–१ तथा मार्ताले रुसकी मिलिना शुब्खानकुलोभालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनल भेट पक्का गरेका हुन्।
ब्वाइज सिंगल्समा भियतनामका फाम ला होङले हङकङका होङ क्यु लाउलाई ६–३, ६–७ (४) र ६–३ तथा भारतका देबसिश साहुले ताइपेईंका काइ इन याङलाई ६–१, ४–६ र ७–६ (३) को सेटमा पन्छ्याउदै फाइनलमा पुगेका छन्। दुवै सिंगल्सको फाइनल शनिबार हुनेछ।