भारतका देबसिश साहु र मंगोलियाकी मार्ता चोक्सोम्जाभले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा देबसिश र गल्र्समा मार्ता पहिलो भएका हुन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा देबसिशले भियतनामका फाम ला होङलाई ४–६, ६–१ र ६–३ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा मार्ताले आफ्नै बहिनी मराल्गुलाई ६–१ र ६–१ को सोझो सेटमा हराइन्।
गल्र्स डबल्समा भने दिदीबहिनी मार्ता र मराल्गुको जोडी च्याम्पियन बनेको थियो। ब्वाइज डबल्समा नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडी पहिलो भएको थियो।
विजेतालाई आयोजक नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्ट र आईटीएफ सुपरभाइजर प्रवीणकुमार नायकले एक कार्यक्रमबीच पुरस्कृत गरे। छदिने प्रतियोगितामा समान ३२–३२ ब्वाइज÷गल्र्स गरी ६४ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन्। त्यसका लागि छनोट प्रतियोगिता शनिबारै सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु भएको छ। ब्वाइज÷गल्र्समा समान ३२–३२ खेलाडी छनोट हुने छन्।