नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा सम्पन्न ‘लिनिङ १२औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता-२०२३’ को एकलतर्फ उपाधि जितेका छन्। प्रिन्सले प्रतियोगिताको पुरूष एकलको लगातार तीन संस्करण जित्दै उपाधिमा ह्याट्रिक गरेका हुन्।
नेपाल ब्याडमिन्टन संघको शीर्ष १६ वरियताभित्र रहेका पुरुष एकलतर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन प्रिन्सले उपाधि उचालेका हुन्।
प्रिन्सले प्रफुललाई २१–१४ र २१–१७ ले पराजित गर्दै च्याम्पियन हुन सफल भए।
पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए।
प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो। यस अघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधि उचालेका थिए।
यस विधामा पुलिसका विष्णु कटुवाल र आर्मीका रुकेश महर्जनले कास्य जिते।
विजयी भएबापत प्रिन्सले नगद ५० हजार र प्रफुलले नगद ३० हजार पाए। कास्य विजेता बिष्णु र रुकेशले क्रमश: १४ हजार र १२ हजार ५ सय पाए।
विजयी खेलाडीलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गरेका थिए।
नेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघअन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शीर्ष १२ वरियता भित्रको एकलतर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि इटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधि विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधि हात पारेकी छन्।
अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोश्रो जित हो। यस विधाको कास्य राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवाले जिते।
विजयी राईले नगद ५० हजार र उपविजेता जेशिकाले २८ हजार ५ सय पाए।
लगातार तीन संस्करणमा जित हात पार्ने खेलाडीलाई राष्ट्रिय ब्याडमिन्टन संघ, नेपालले स्कुटर प्रदान गर्ने घोषणा बमोजिम अर्को संस्करणको उद्घाटनका अवसरमा प्रिन्सलाई स्कुटर प्रदान गरिने छ।
पुरुषको शीर्ष १६ वरियता देखि बाहेकको पुरुष एकलमा आर्मीका पविन लिनथेपलाई पराजित गर्दै एपिएफका सुजन थापाले उपाधि हात पारे। थापाले लिनथेपलाई २१–१५, २१–१३ ले पराजित गरेका थिए।
आर्मीका हिमाल चन्द र एपिएफका प्रनिश सिंह ठकुरीले तेश्रो स्थानमा चित्त बुझाए।
महिला शिर्ष १२ देखि बाहेकको एकल तर्फको खेलमा आर्मीकी बिश्ना बिष्टले झापाकी अन्जना राईमाथि १९–२१, २१–१९, २१–१९ को कठिन जित निकालदै उपाधि कब्जा गरेकी हुन्। पाँचथरकी रिना तामाङ र आर्मीकी टिशा रानी शाक्य संयुक्त तेश्रो भए।
पुरुष यु १७ तर्फको प्रतिस्पर्धामा एपिएफका रोशन साउदले जित हात पार्दै उपाधि उचाले। साउदले फाईनलमा आर्मीका अनिल मल्ललाई २१–११, २१–१५ ले पराजित गर्दै उपाधि उचालेका हुन्। आर्मीका कविर के.सी. र दाङका सनौला रैनी संयुक्त तेश्रो भए।
महिला यु १७ तर्फ आर्मीकी रिहाना शेरचनले आर्मीर्क टिशा रानी शाक्यलाई २१–१०, २१–१६ ले पराजित गर्दै उपाधि कब्जा गरिन्। कास्कीकी निभा राई र ताप्लेजुङ्गकी नुमा लिम्बुले संयुक्त तेश्रो स्थान प्राप्त गरे।
पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा काठमाण्डौका संजय कपाली र श्याम लामाको जोडीले उपाधि जिते। कपाली र लामाको जोडीले कास्कीका राजेश गुरुङ र बाँकेका अनिल लाखेको जोडीलाई २२–२४, २१–१२, २१–१६ ले पराजित गर्दै उपाधि जितेका हुन्। सुनसरीका भजनलाल चौधरी र ईटहरीका सन्त तामाङ तथा बेलबारीका दीपक आङ्गदम्बे र मोरङका बिकास श्रेष्ठको जोडी संयुक्त तेश्रो भए।
पुरुष ५५ बर्ष माथिको प्रतिस्पर्धामा पाँचथरका रामराज आङ्गदम्बे र संजय भक्तराजको जोडीले जित हात पार्दै उपाधि उचाले। फाईनलमा आङ्गदम्बे र भक्तराजको जोडीले कास्कीका रमेश भट्टचन र खोटाङका दीपक राईको जोडीलाई १७–२१, २१–११, २१–१० ले पराजित गरेका हुन्। बि.बि.सी.का केशव कार्की र आर.के. सिंहको जोडी तथा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङको जोडी संयुक्त तेश्रो भए।
शहिद रङ्गशालास्थित कभर्डहलमा फागुण २ देखि भएको प्रतियोगिताको सह–आयोजकमा मोरङ जिल्ला ब्याडमिन्टन संघ रहेको थियो।
नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहेको प्रतियोगितामा शीर्ष १६ वरियतामा रहेका पुरुष एकल, शीर्ष १२ वरियतामा रहेका महिला एकल, शर्ष १६ वरियता बाहेकका पुरुष एकल, शीर्ष १२ वरियता बाहेकका महिला एकल, पुरुष र महिला युगल, यु–१७ छात्र र छात्रा एकल, भेट्रान ४५ बर्ष माथि र ५५ बर्ष माथि गरि १० विधामा १९२ खेलाडीको सहभागिता रहेको थियो।