आयोजक लोयल्टी एकेडेमी ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेको छ।
मण्डिखटारस्थित घरेलु मैदानमा भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो। लिटिल एन्जल्स नवौं संस्करणको पनि विजेता हो। लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गरे।
लिटिल एन्जल्सका स्मिथ राउत उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगिताभर ८ गोल गरेका लोयल्टीका साहिल राई सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे। विद्या संस्कारका प्रहार केसी उत्कृष्ट गोलरक्षक तथा लोयल्टीका सैलेश कर्माचार्य उत्कृष्ट प्रशिक्षक चुनिए। त्रिज्योतिले अनुशासित टिमको उपाधि हात पार्यो।
विजेतालाई संघीय सांसद् प्रदीप पौडेल, लोयल्टीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फे, लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
पाँचदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए। पहिलो पटक प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइएको हो। विगतका १० संस्करण नकआउट पद्धतिमा भएको थियो।