ह्वीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ।
हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका छन्। प्रशिक्षकमा भरतकुमार कार्की छन्।
टोली प्रमुखमा नेपाल पारालिम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला तथा अफिसियलमा महासचिव प्रकाश चिलवाल रहेका छन् ।
मार्च २३ देखि २९ सम्म हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र श्रीलंका गरी ४ राष्ट्रको सहभागिता रहने छ।
चार टिमबीच राउन्ड रोविन लिगका आधारमा खेल हुनेछ । लिगमा शीर्ष २ स्थान हात पार्ने टिमले पुनः उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।
नेपालले मार्च २४ मा श्रीलंका, मार्च २५ मा भारत र मार्च २७ मा बंगलादेश विरुद्ध राउन्ड रोविन लिगमा प्रतिस्पर्धा गर्ने छ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे।