विराट गोल्डकपको फाइनल खेल आज हुँदैछ।
विराटनगरस्थित सहिद मैदानमा आज राति उपाधिका लागि आयोजक विराटनगर र भारतको केरलास्थित लुका सकर फुटबल क्लब भिड्दै छन्। उपाधि भीडन्त आयोजक विराटनगर र भारत केरलाको टोलीबीच श्रेष्ठताको लडाइँ हुनेछ।
विराट गोल्डकपको ६१ वर्ष लामो इतिहासमा आयोजक टोली दोस्रोपटक फाइनल पुगेको छ।
२०१८ मा सुरु भएको महेन्द्र गोल्डकपको पहिलो संस्करणमा उपविजेता बनेको आयोजक टोली २०१९ मा विजेता बनेको थियो।
त्यसयता आयोजकले विराट गोल्डकपमा बदलेको यो प्रतियोगिता जित्न सकेको छैन। त्यसैले दोस्रोपटक उपाधि जित्न घरेलु टोली लालायित छ।
उता आफ्नो पहिलो विदेश भ्रमणमा रहेको केरलाको लुका सकर फुटबल क्लब विदेशी भूमिमा उपाधि जितेर इतिहास रच्न आतुर छ।
सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टिम तेस्रोपटक फाइनलमा पुगेको हो। गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबको सेट नै मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट नेपालका स्टार खेलाडी विमल घर्ती मगरलाई पनि मैदान उतारेको छ।
प्रतियोगिताको फाइनल पुगेका दुवै टोलीले उपाधि दाबेदार टिमलाई हराउँदै फाइनल यात्रा तय गरेका हुन्। विराटनगरले पूर्व विजेता टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै फाइनलमा प्रवेश गरेको हो।
विराटनगरले क्वाटरफाइलनमा नेपाल पुलिसलाई १–० गोलले र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो।
केरलाले क्वाटरफाइनलमा सङ्कटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो।
सेमिफाइनलमा केरलाले साबिक विजेता विभागीय टिम एपीएफलाई टाई ब्रेकरमा ४–२ गोलले हराएर फाइनलमा स्थान पक्का गरेको थियो।
फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्। विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले घरेलु मैदानमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए।
‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ । उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुईटा लक्ष्य लिएका आएका थियौँ । एउटा उपाधि र अर्को फाइनल पुग्ने। एउटा पूरा भयो अर्को पूरा हुने क्रममा छ।’
कप्तान विशाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे। ‘लुका सकर राम्रो टिम हो । अग्ला कद भएका खेलाडी छन् । त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौ,’ उनले भने, ‘केरलाका अग्ला कद भएका खेलाडी भएकोले हामी ग्राउन्ड लेभलबाट खेल्नेछौँ ।’
केरला प्रिमियम लिगको पाँचौँ स्थानमा रहेको लुका सकरले पनि उपाधि जित्ने लक्ष्य रहेको बताएको छ। प्रशिक्षक नभास नोकाले फाइनल भन्दा अगाडि जस्तै लय कायम राख्ने बताए।
‘हामी नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्नेछौं’, उनले भने ‘‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो । त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ।’
केरलाका कप्तान अर्सादले उत्कृष्ट खेल प्रदर्शन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले उपाधि जित्ने दाबी गरे । ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौँ,’ उनले भने।
चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्। प्रशिक्षक, गोलकिपर, मीड फिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५–२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।