पोखरामा आज सम्पन्न एसिया कप ट्रायथलन च्याम्पियनसिपमा पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाका माग्ररेटा विकानोभा च्याम्पियन बनेका छन्।
नेपाल ट्रायथलन सङ्घको आयोजनामा पोखराको लेकसाइडमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ बब हलरले सात सय ५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड गरी निर्धारित दुरी ५५ मिनेट ५५ सेकेण्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका हुन्।
उज्वेकिस्तानका एलेक्सान्द्र कुरिशोभ दुई सेकेण्डले पछि परे। उनले निर्धारित दुरी ५५ मिनेट ५७ सेकेण्डमा पूरा गरे। लक्जम्वर्गकै स्टेफन जाचाउसले ५६ मिनेट एक सेकेण्डमा निर्धारित दुरी पूरा गरी तृतीय बने। जापानका क्योटारो योसिकावाले समग्रमा ५६ मिनेट नौ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पूरा गरी सानत्वना स्थान हासिल गरे।
पुरुषतर्फ नेपालसहित लक्जम्वर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए।
महिलातर्फको प्रतिस्पर्धामा विकानोभाले निर्धारित दुरी एक घण्टा चार मिनेट ५१ सेकेण्डमा पूरा गरी च्याम्पियन बने। जापानकी मिनेरी इकिनोले एक घण्टा पाँच मिनेट १८ सेकेण्डमा दुरी पूरा गरी उपविजेता बने।
जापानकै चिसालो नाकाजिमाले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दुरी पूरा गरी तृतीय स्थान हासिल गरे नेपाल ट्रायथलन सङ्घले जनाएको छ।
साउथ एसिया कप च्याम्पियनसीपमा पुरुषतर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले उपाधि जिते। उनले एक घण्टा चार मिनेट १६ सेकेण्डमा दुरी पूरा गरे। भारतकै विश्वनाथ यादवले एक घण्टा छ मिनेट २५ सेकेण्ड पार गर्दै उपविजेता बन्दा नेपालका वसन्त थारु एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गरी तृतीय बने।
साउथ एसिया कप च्याम्पियनसीप महिलातर्फ भारतका प्रज्ञा मोहन प्रथम, भारतकै मान्सी मोहित द्वितीय र नेपालकी श्रेवी महर्जन तृतीय भए।
नेपालतर्फका राष्ट्रिय ट्रायथलनको प्रतिस्पर्धामा पुरुषतर्फ वसन्त थारु च्याम्पियन बने। उनले एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गर्दा दीपेश चौधरीले एक घण्टा नौ मिनेट १७ सेकेण्डमा पूरा गरी द्वितीय बने। मौलिक महर्जनले पौडी निर्धारित दुरी पूरा गर्न एक घण्टा ११ मिनेट तीन सेकेण्ड समय लगाए ।
यसैगरी महिलातर्फको राष्ट्रिय प्रतिस्पर्धामा श्रेवी महर्जन प्रथम हुनुभयो भने केशरी थापा मगरले द्वितीय स्थान हासिल गरे। ट्रायथलनमा महिला÷पुरुष उपाधि विजेताले मेडल, प्रमाण पत्रका साथ छ सय ३० डलर पुरस्कार प्राप्त गरेका छन्। द्वितीय हुनेले पाँच सय २५ डलर, तृतीयले चार सय २० डलर र सान्त्वनाले तीन सय १५ डलर पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ।
विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल ट्रायथलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरे।