सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। तपाईंहरू पनि आफ्ना नानीबाबुलाई फुर्सदको समय लेखपढमा लगाउनुहोला।
उनीहरूलाई नेपाली भाषामा आफ्ना अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक लेखनमा प्रेरित गर्नुहोला। ती लेख तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
संसारभर कोरोना भाइरस महामारी फैलिन थालेसँगै नेपाल सरकारले चैत ५ गतेभित्र कक्षा ९ सम्मको वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दियाे। त्यसयता मजस्ता धेरै विद्यार्थी घरमै छाैं।
चैत ११ गतेदेखि त लकडाउन नै सुरू भयाे। त्यसपछि त झनै धेरै मानिससँग खाली समय भयाे। धेरै मानिसलाई याे समय कसरी बिताउने भन्ने अन्यौलमा छन्। झन् अहिले त लकडाउन वैशाख ३ गतेसम्म थप भएको छ। थाहा छैन यो क्रम कहिलेसम्म चल्ने हाे।
यस्तो समयमा हामीजस्ता विद्यार्थीले विभिन्न ज्ञानमूलक किताब अध्ययन गर्न सक्छाैं। आफ्नो रूचि अनुसारका विभिन्न किताब विभिन्न माध्यमबाट पाउन सकिन्छ। खाली समयमा दैनिक जीवनसँग सरोकार राख्ने धर्म, संस्कृति, साहित्य, विज्ञान लगायत विषयसँग सम्बन्धित किताब खोजी-खोजी पढ्न सकिन्छ। यसले हाम्रो ज्ञानको दायरा फराकिलो पार्न सहयोग गर्छ।
याे समयमा मैले अध्ययन गरेको महाभारतका प्रेरक कथा, नैतिक शिक्षाकाे मलाई प्रेरणादायक लागेका केही कथाबारेमा उल्लेख गर्न चाहन्छु।
अतिथि सत्कार
यस शिर्षकमा राजा शिवी, ब्रह्मा र वृहदश्व जस्ता पात्रहरू छन्। यस पाठमा एकदिन भगवान ब्रह्मा ब्राह्मणको रूप धारण गरेर राजा शिवीको अतिथि सत्कार गर्ने शैलीको परीक्षा लिन उनको दरबारमा पुग्छन्। त्यहाँ पुग्नासाथ ब्राह्मणले आफ्नो भोजनका लागि राजा शिवीका छोराको मासु पकाएर तयार गर्न अनुराेध गर्छन्। ब्राह्मणले सो मासु पहिला राजा शिवीले खानुपर्ने अनि मात्र आफूले खाने बताउँछन्।
राजाले मासु खुसीका साथ मुखमा मात्र हाल्न लागेका हुन्छन्, ब्राह्मणले रोक्छन्। अकस्मात ब्राह्मणको ठाउँमा राजा शिवीका छोरा वृहदश्व प्रकट हुन्छन्। यस पाठले हामीलाई हाम्रा अतिथिहरूलाई भगवान सरह नै सेवा गर्नुपर्छ भन्ने नैतिक शिक्षा प्रदान गर्छ।
अत्याचार, दण्ड र क्षमा
यस शिर्षकमा राजा शिशुपाल, श्रीकृष्ण, राजा दमघोष, शिशुपालकी आमा, राजा भिष्मकर र रूक्मिणी जस्ता पात्र छ्न्। यस पाठमा चन्देरीका राजा दमघोषको छोराको नाम शिशुपाल हुन्छ। शिशुपाल बलवान भएकाले उनको मनमा घमण्डले घर बनाएको थियो। यसकारण उनी ज्यादै निर्भय भएर हिँड्थे।
उनी श्रीकृष्णलाई असाध्यै चिढाउँथे। एकदिन शिशुपालकी आमाले श्रीकृष्णसँग एउटा वरदान माग्ने कुरा गरिन्। उनी श्रीकृष्णकी फुपू थिइन्। त्यसैले उनले श्रीकृष्णलाई आफ्नो छोराको सय अपराध माफ गरिदिन भनिन्। श्रीकृष्ण वचनमा बाँधिए। शिशुपालले अपराध गरे पनि श्रीकृष्ण केही गर्न सक्दैनथे। अर्कोतर्फ विदर्थ देशका राजा भिष्मकरकी रूक्मिणी नामकी एक छोरी थिइन्। रूक्मिणी श्रीकृष्णको रूपमा मोहित भइसकेकी थिइन्। साथै उनका पिता रूक्मिणीको विवाह श्रीकृष्णसँग गर्न चाहन्थे र रूक्मिणी पनि विवाहका लागि सहमत थिइन्।
यसबीच शिशुपाल पर्खाल बनेर बसेका थिए। शिशुपाल आफैं रूक्मिणीसँग विवाह गर्न चाहन्थे तर रूक्मिणीले शिशुपाललाई ठाडै इन्कार गरिन्। अपमानित भएका शिशुपाल रिसले आगो भए। एकातिर पिताले रूक्मिणीको स्वयंवरको तयारी गर्न थाले। स्वयंवरमा शिशुपाल आइपुगे। उनले श्रीकृष्णलाई दु:ख दिने केही कसरत बाँकी राखेनन्। तर वचनमा बाँधिएका श्रीकृष्ण केही गर्न सक्दैनथे।
उनले शिशुपालको अपराधबारेमा भने। यो सुनेर शिशुपाल श्रीकृष्णको निन्दा गर्न थाले। त्यस बेला शिशुपालको अपराध उनान्सय थियो तर जब उनले यो दुष्टता देखाए तब उनको अपराधको संख्या सय भयो। त्यसले सीमा नाध्यो। त्यसैबेला श्रीकृष्णले सुदर्शन चक्रद्वारा शिशुपालको शिरछेदन गरी एउटा दुष्ट आत्माको विनाश गरे।
यस पाठबाट हाम्रो यो नैतिक शिक्षा बढ्छ कि सबै कुराको सीमा हुन्छ। अत्याचार र अपराधको पनि सीमा हुन्छ। जब त्यसले सीमा नाघ्छ, तब आफ्नो नियति भोग्नुपर्छ।
क्षमा
यस कथामा पाण्डव, दुर्योधन, द्रौपदी र अश्वत्थामा जस्ता पात्र छन्। यस कथामा पाण्डव सोचेर दुर्योधनको आदेशमा अश्वत्थामाले पाँच पाण्डव पुत्रलाई मारे। त्यसकाे क्रोधमा पाण्डव र अश्वत्थामाबीच युद्ध भयो। त्यस युद्धमा पाण्डवको विजय हुन्छ र अश्वत्थामालाई कैदी बनाइन्छ। अश्वत्थामालाई आफ्नो बाच्ने केही आशा थिएन तर द्रौपदीले अश्वत्थामालाई माफ गरिन् किनकी उनी अश्वत्थामालाई गुमाउने उनकी आमाको पीडा बुझ्छिन्। यस कथाबाट बैगुनीलाई गुणले मार्नुपर्छ, हतियारले होइन भन्ने नैतिक शिक्षा पाइन्छ।
यो किताबमा यी तीनबाहेक चालीस वटा अन्य कथा पनि छन् । यस किताबका लेखक देवेन्द्र तिम्ला हुन् र प्रकाशन प्रगति पुस्तक सदनले गरेको हो यो किताबको मूल्य १ सय ८५ रूपैयाँ हाे। यो किताब बालबालिकाको लागि एकदम राम्रो र उपयोगी छ।
यसले हामी बालबालिकाको दिमाग चलाख र तिखो बनाउँछ। यो किताब जस्तै अरू धेरै किताब छन् जसले हामीलाई व्यवहारिक र नैतिक बन्न अभिप्रेरित गर्छ। हामीले यस्ता किताब खोजी-खोजी पढ्नुपर्छ।
(रोमहर्षण ढुंगेल भक्तपुरस्थित एभरेष्ट इङलिश स्कुल, कक्षा ५ मा अध्ययनरत छन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)
ketaketi.setopati@gmail.com
यी पनि पढ्नुस्ः