म्याग्दीको बेनी नगरपालिकाले जिल्लाकै बहुचर्चित योजनाको रुपमा लिइएको रामायण पाक बनाउने भएको छ ।
पार्कको विस्तृत परियोजना (डिपीआर) बनाए लगत्तै निर्माणकार्य सुरु हुने नगरपालिकाले जनाएको छ।रामायण पार्क निर्माणका लागि नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न योजनालाई अगाडि बढाउन नगरपालिकाले परामर्शदाता छनोटको तयारी गरेको बेनपा–८ का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रबक्ता रामकृष्ण बराईलीले बताए।
बेनी नगरपालिकामा पर्ने पौलस्त्य आश्रममा रामायणमा उल्लेख गरिएका लंकाका राजा रावणको जन्म भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । रावण पौलस्त्य क्रृषिका नाति थिए ।
नगरपालिकाका प्रवक्ता बराइलीका अनुसार आँपरुख, गुफाको डिल र पौलस्त्य आश्रमलाई समेटेर रामायण पार्क योजनाका लागि डिपीआर तयार हुँदै छ । नगरपालिकाको वडा नम्बर ६,७ र ८को सिमानामा पर्र्ने आँपारुख सामुदायिक बनमा पार्क सहितको मुर्ती, बेनपा–६ गुफाको डिलमा रामसिताको मुर्ती र पौलस्त्य पुलह आश्रममा मुख्य रामायण पार्क बनाइने छ ।
आपाँ रुखलाई प्रवेशद्धार बनाइए पनि गन्तब्य पुला आश्रम नै हुने बराइलीले बताए। रामायण पार्कसँगै बेनीदेखि पदमार्ग, मुर्ती निर्माण र वातावरण तथा विपद् ब्यवस्थापन तर्फ विस्तृत आयोजना प्रतिवेदन (डिपीआर)बाट अनुमानित लागत समेत पहिचान हुने नगरपालिकाले जनाएको छ । रामायणपार्क बनाउन कुल ५० करोड लागतको अनुमान गरिएको छ।
रामायण पार्कले आन्तरिक पर्यटकसँगै दक्षिण भारत, श्रीलंका, भुटान लगाएत हिन्दु र बौद्ध धर्मावलम्वीहरुको बसोबास रहेका देशबाट समेत पर्यटकलाई आकर्षित गर्न सकिने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।
रावणको मुर्ती सहितको संरचना बनाएमा श्रीलका र दक्षिण भारतबाट हजारौ भक्तजनलाई भित्राउन सकिने अनुमान गरिएको छ । पार्क सहितको संरचना बनाएलगत्तै निजी क्षेत्रबाट केवल कार विस्तारको सम्भावना समेत रहेको पर्यटन ब्यवसायीको भनाई छ।
बेनीबजारको शीरमा अवस्थित पौलस्त्य आश्रममा लंकाको राजा रावणको जन्मस्थान मानिन्छ। पौलस्त्य आश्रम क्षेत्रको वर्णन श्रीमद्भागवत,मत्स्य पुराण लगाएतका ग्रन्थहरुमा समेत उल्लेख छ ।